
जीतबहादुर भण्डारी
पाँचथर, २२ साउन । भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ ।
नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन ।
उत्तरी–चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक आगामी माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ ।
सिक्किमका शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले सो सडक धेरै पहिले बनिसक्नुपर्नेमा वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण ढिलो भएको बताउनुभयो । “हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । स्थानीयवासीका अनुसार खुला सिमानाका कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानोस्तरमा यहाँबाट व्यापार गरिरहेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

