
झापा, १२ जेठ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।
वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका–७ एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ। ७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।
नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको जानकारी दिए। ‘शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै पोजेटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ,’ उनले भने। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


