
गौरादह, २४ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति गौरादहले २४ औं अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ ।
गौरादह नगरपालिका वडा नं. ७ को ग्वालडुब्बा बजारमा आयोजना गरिएको आदिवासी दिवसमा विभिन्न जातजातिहरुले आफ्नो जातीय पोशाकमा सजिएर सांस्कृतिक पहिचान झल्कने नृत्य तथा झाँकी प्रदर्शन गरेका थिए । त्यस अवसरमा नेपाल तामाङ घेदुङ संघले डम्फु सेलो, याक्थुङ चुम्लुङले केलाङ नाच, नेवा देय दवुले लाखे नाच किराँत राई यायोक्खाले साकेला सिली नृत्य, धिमाल उत्थान संघले जातीय भाषाको गीत, नेपाल मगर संघले हुर्रा नाच, राजवंशी समाज विकास समिति र ताजपुरीया समाज कल्याण परिषदले गाउन नाच र थारु कल्याण समाजले थारु झाँकी प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सहभागी जातीय नृत्य टोलीलाई सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ गौरादह नगर समन्वय समिति अध्यक्ष विश्वराज घिसिङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले विभिन्न जात जातिहरुको बसोबास रहेको गौरादह नगरपालिकामा सबैको अपनत्व कायम हुने कार्य नगरपालिकाले सञ्चालन गरेको बताए ।
शाहले सबै जातजातिको भाषा संस्कृति रहनसहन र पहिचानलाई सुरक्षा गर्नसके मात्र नगरको विकास सम्भव रहेको बताए । यस अवसरमा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति उपाध्यक्ष भरत श्रेष्ठ, ताजपुरीया समाज कल्याण परिषद् केन्द्रिय अध्यक्ष गंगाराम ताजपुरिया, नेपाल कम्युनिष्ट पार्टीका मित्रदेव काफ्ले, संघीय समाजवादीका नितेश्वर झा, राजवंशी समाज विकास समिति नगर अध्यक्ष रघुनाथ राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थीए ।
महासंघका नगर उपाध्यक्ष के.डी. राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव तुलसीप्रसाद राजवंशीले सञ्चालन गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

