
शालिक भट्टराई ‘अन्तरे’
दुबो,
टेकिए पछि पनि उठ्छ
कुल्चिए पछि झन् अटेरी हुँदै उठ्छ
चिस्याँन हराउँदा मर्दैन
एकबुँद पानीमा बुच्का–बुच्का उमार्छ
तुषारोको क्रुरता पगालेर उठ्छ
हप्हपी गर्मीमा लतारिदैं मौलाउँछ
समयको चक्रब्यूहमा, तिखा टुसाहरु
लहराउँने लालसा दामासाही बनाउँछ ।
ऊ दुबो हो,
बटुवा जत्तिसुकै खुट्टा बजारेर मर्मान्त किन नहिडोस्
साँढे, घोडाको टापले क्रुरतापुर्वक किन नकुल्चियोस्
जनावरका खुर ऊ, माथि किन नबजारियोस्
दुबो पंहेलो भएर पनि, पोथीदुवो मुना कोरल्छे ।
त्यसो त दुबो,
चट्टानको काप–कापबाट चिहाउँछ
च्याप–च्यापबाट पलाउँछ ।
मट्याईलोको के कुरा ?
अक्कर कराला अनि भिरालामा
घोप्टिएर, नेप्टिएर, चेप्टिएर जुर्मुराउँछ ।
ऐन, कानूनको परिधी भित्रबाट
लुटुपुटु फायलमा निकास खोज्ने कर्मचारी झै
समयको चक्रब्यूहमा दुबो, टुसाईरहन्छ ।
तर,
दुबो माथि जान सक्दैन ?
चेतना, अनिवार्यताको सिमामा छ
बिचार, अभिब्यक्तिको सेन्सर गर्छ
दर्शन, थकानले निमिट्यान्न छ
लालसा हराउँदा श्रद्धाभाव मर्मान्त छ
जब,
युगको बसन्तमा गणतन्त्रको झोंका बर्सिन्छ
हतास पँहेला त्यान्द्राहरु, अनायासै ब्युँझन्छन्
दुबो, ठोसा हाल्दै लह–लह मौलाउँछ
स्वतन्त्रतामा रम्न जम्न लाग्छ ।
समयको पदचापमा, पुनर्राबृत्ति भईरहन्छ
प्रजातान्त्रिक गणतन्त्रका, नागरिकका साथीहरु
स्वतन्त्रताको विगुल फुक्दै, संगठित माहुरी भई
पँहेलिएको दुबो झै,
पेशा गुजार्न विवश बन्छन ।
गोठाला खेतालाहरु,
दुबो माथि, भाँडाकुटी खेल्छन्
भेडीगाँठो अनि डण्डिबियो खेल्छन्
बाच्छाबाच्छीहरु दुबोमा छाडा छाड्छन्,
टाउको माथि, हुच्ची अनि गिर खेल्छन् ।
क्रिकेटका चौका छक्का हान्छन,
थाङ्गने भकुण्डो बनाउँदै,
वास्केटवल फुटवल जस्तै गोल ठाेक्छन्
अनि मेचीकाली छेलो हान्छन् ।
अझ पनि दुबो,
बलौटे होस् वा पाँगो
धुलाम्य होस् वा डुवानमा परोस्
रातो होस् वा कालो माटो
गेंगर होस् वा चिम्ट्याईलो भासहोस् ।
आशा पलाउँदै दुबो,
आततायी बुटले थिचे पनि उठ्छ ।
स्वतन्त्रताको कसीमा बेरित बसिसकेपछि
दर्शिन ढुङ्गाले थिचे पनि उठ्छ ।
आफ्नो धर्म र पेशागत हितका लागि ।
अनवरत,
पदचाप पुनर्राबृत्ति भईरहँदा
दुबो, ज्यूँदो हुन्छ, ज्यूँदो रहन्छ ।
ऐन, नियम कानूनले बेरिएको
एउटा विवस कर्मचारी जस्तै,
अटेरी हुँदै उठ्छ ।
(अस्तु) २०७७/०२/१९
हालः– इलाम ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



