
गौरादह, २६ साउन । गौरादह नगरपालिका वडा नं. ७ ग्वालडुब्बामा कन्काई विकास बैंकको १५ औं शाखा उद्घाटन गरिएको छ ।
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनी मन्त्रि हिक्मत कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । झापा, मोरङ र इलाममा सेवा प्रदान गर्दै आएको बैंकले ग्रामीण क्षेत्रमा समेत सेवा दिने उद्देश्यले शाखा खोलिएको र निकट भविष्यमा सुनसरीसहित अन्य जिल्लामा समेत सेवा विस्तार गर्ने बैंकका कार्यकारी प्रमुख प्रकाशमान बज्राचार्यले जानकारी दिए ।
गौरादह नगरपालिकाको गौरादह बजार र ग्वालडुब्बा बजारसहित एकै नगरपालिकामा दुई ठाउँबाट नागरिकलाई सेवा दिने बताउँदै बैंकले निक्षेप संकलन, ऋण प्रवाह, मोबाइल बंैकिङ, रेमिट्यान्स सेवाका साथै आधुनिक बंैकिङ सेवा नागरिकहरुले पाउने बैंकका ग्वालडुब्बा शाखा प्रमुख शेखर सुवेदीले बताए ।
कुल शेयर पूँजी ५० करोड रहेको कन्काई विकास बैंकले ग्रामीण क्षेत्रमा सेवा दिनुको साथै रोजगारीका अवसरहरु समेत सिर्जना गरेको बैंकका सञ्चालक समिति सदस्य तथा कार्यक्रमका सभापति विश्वराज अधिकारीले बताए ।
सो अवसरमा गौरादह नगरपालिकाका नगरप्रमुख रोहितकुमार, शाह वडा नं. ७ का वडा अध्यक्ष बलराम खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बैंकका प्रबन्धक भरत खनालले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

