
सान नेपाल
गौरादह, २७ साउन । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि सोही स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरेका छन् ।
गौरादह–९ बैगुन्धुराका रामबहादुर पौडेलले वडा कार्यालयको भवन निर्माणका लागि सात कठ्ठा जग्गा उपलब्ध गराएको वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिनुभयो । ‘जग्गा अभावमा भवन निर्माणमा समस्या भएको थियो’, वडाध्यक्ष भट्टराईले भन्नुभयो, ‘चाँडै भवन निर्माणको काम शुरु गर्ने छौँ ।’
वडा कार्यालयको भवन निर्माका लागि गौरादह नगरपालिकाले रू १० लाख समेत विनियोजन गरिसकेको उहाँले बताउनुभयो । भवन निर्माणका लागि उक्त रकम अपुग हुने भएकाले केन्द्र सरकारसँग थप बजेट माग गरिएको उहाँले सुनाउनुभयो ।
हाल वडा कार्यालय साविक बैगुन्धुरा गाविसको कार्यालयबाट सञ्चालन हुँदै आएको छ । उक्त गाविस कार्यालय पनि अमर माध्यमिक विद्यालय बैगुन्धुराको जग्गामा निर्माण गरी सञ्चालन गरिँदै आएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

