
झापा, २७ साउन । झापाको कनकाई नगरपालिकाले दिएको मोटरसाइकल यहाँका दुई वडाध्यक्षले फिर्ता गरेका छन् ।
कनकाई–३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरिया र २ का वडाध्यक्ष परशुराम गिरीले नगरपालिकाले दिएको मोटरसाइकल फिर्ता गर्नुभएको हो । सुविधा पाउने अपेक्षाले जनप्रतिनिधि नभएको बताउँदै गिरीले बिनासुविधा वडाबासीको सेवामा समर्पित हुने बताउनुभयो । ‘मसँग पुरानै मोटरसाइकल छ’, उहाँले भन्नुभयो, ‘मलाई दिइएको मोटरसाइकलको रकम विकासको काममा खर्च लगाउँछु ।’
त्यस्तै, वडा नं. ३ का वडाध्यक्ष चिमरियाले आफूहरुले सेवा सुविधा लिने भन्दा पनि वडाबासीलाई सुविधा दिनु प्रमुख कुरा भएको बताउनुभयो । ‘हामीले सुविधा लिनुभन्दा वडाबासीको सुविधालाई ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनका बेला पनि जनतासँग यही बाचा गरेका हौँ ।’
यसअघि शिवसताक्षीका एक वडाध्यक्षले समेत आफूले पाएको मोटरसाइकल फिर्ता गर्नुभएको थियो । सार्वजनिक सवारी साधनको दुरुपयोगबारे समाचार आइरहँदा जनप्रतिनिधिको यस प्रकारको निर्णयले नगरबासी खसुी भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

