
शेखर पाण्डे
हरेक बालकबालिका ‘देव’ हो । ‘दानव’ त ऊ हुर्केपछि मात्र बन्ने हो । जरुरी छैन हरेक बालकबालिका हुर्केपछि ‘दानव’ नै बन्छ भन्ने । तर हरेक बालकबालिका ‘देव’ हो भन्नेमा चाहिँ शंका छैन । त्यसो हो भने, हामी बालक हौँ कि बालिका भन्ने कुरा महत्वपूर्ण होइन । जे भए पनि, हामी ‘देव’ हौँ ।
त्यसरी नै, हामी कसरी र कस्तो वातावरणमा हुर्कन्छौं भन्ने कुरा चाहिँ निर्णायक हुन्छ । किनभने, हाम्रो हुर्काइमा भरपर्छ हामी हुर्केपछि ‘देव’ नै रहने कि ‘दानव’मा रुपान्तरण हुने भन्ने कुरा । जीवन–दर्शन भन्छ, ‘आस्थारहित मानिस यो पृथ्वीमा कोही पनि हुन्न यदि ऊ सद्धे व्यक्ति हो भने ।’
भन्नुको तात्पर्य के भने, केमाथि आस्था छ भन्ने मात्र फरक हो । आस्था त छ नै, चाहे त्यो जेमाथि होस् । सुगन्धमाथि आस्था हुनेका लागि यो संसार नै आँखा चिम्म गरेर रमाइरहुँ जसरी मगमगाउँछ भने दुर्गन्धमा आस्था हुनेका निम्ति यो लोक नाकै झर्ला जसरी गन्हाउँछ ।
धेरै हदसम्म एउटा बालक वा बालिकालाई ‘देव’ नै रहिरहन सघाउने वा ‘दानव’ बन्न उक्साउने भनेकै केमाथि आस्था राख्दै कोही हुर्कन्छ भन्ने कुराले हो । सुगन्धसँग आस्थाको साइनो जोड्नेहरु ‘देव’ नै रहिरहन्छन् हुर्किसकेपछि पनि । ठीक विपरीत, दुर्गन्धमा आनन्द भेट्टाउनेहरु हुर्कंदै जाने क्रममा क्रमशः ‘दानव’ बन्दै जान्छन् ।
आस्था विचित्रको हुन्छ त्यसैले । आस्थाजत्ति नै विचित्रको हन्छ सुगन्ध वा दुर्गन्ध पनि । कसैलाई ‘देव’ नै राखिरहने सुगन्ध वा कसैलाई ‘दानव’ बनाइदिने दुर्गन्ध कहाँ चानचुने कुरो हो र ! आस्थालाई बुझौं ।
आस्थासंगै, सुगन्ध र दुर्गन्धलाई बुझौं । ‘देव’ र ‘दानव’लाई पनि बुझौं । बुझेको कुरालाई आफ्नो दैनिकी र आफ्नो जीवनमा कार्यान्वयन गरौं । ‘देव’ नै रहिरहन इमानदारीपूर्वक प्रयास गरौं ।
संप्रति– ‘गोमेन्द्र बहुमुखी महाविद्यालय’ र ‘गोमेन्द्र बिर्ता मोडल माध्यमिक विद्यालय’ बिर्तामोड (झापा)
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



