
बनियानी, झापा, २९ साउन । झापाको विभिन्न स्थानबाट विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ ।
झापाको कचनकवलबाट एक जना, बिर्तामोड र दमकबाट दुई÷दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार कचनकवल–१ बनियाँनीबाट ४३ वर्षीय देवी खड्का, बिर्तामोडबाट ३५ वर्षीय दीपमान राई र ४८ वर्षीय प्रेम चापागाईं तथा दमकबाट २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरिएको हो । ‘बन्द गराउँदै र पर्चा बाँड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो’, उहाँले भन्नुभयो, ‘जिल्लामा त्यस्तो कुनै अलोकप्रिय घटना भएको छ, अवस्था सामान्य छ ।’
त्यस्तै, जिल्लाका दुई स्थानमा आज विस्फोट भएको छ । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको पत्रकार महासंघ झापाको कार्यालय नजिकै र गौरादह नगरपालिकाको वडा नम्बर ७ को वडा कार्यालय भवन छेउमा बम बिस्फोट भएको हो ।
महासंघ कार्यालय नजिकै दुई जना व्यक्तिले आज बिहान ६ बजे सुतुली बम राखेर हिँडेको केही क्षणमै विस्फोट भएको प्रहरीले जनाएको छ । त्यस्तै, गौरादहको वडा कार्यालय नजिकै बिहान ६ः४५ बजे सुतली बम बिस्फोट गराइएको हो । त्यहाँ मोटरसाइकलमा आएका दुई जनाले उक्त बम राखेको प्रहरीले जनाएको छ । प्रनाउ बस्नेतले भन्नुभयो, ‘बन्दकर्ताले सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यले यस्तो काम गरेको हो, सुरक्षा अवस्था कडा बनाइएको छ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

