
बिर्तामोड, २९ साउन । मोटर साइकल चोरीको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–७ का २५ वर्षीय विवेश चौधरी र बिर्तामोड–२ का साजन भन्ने यसराज राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चौधरीले चलाइ रहेको मोटरसाइकल बिर्तामोड–३ स्थित सडक खण्डमा चेकजाँचका क्रममा शंका लागि सोधपुछ गर्दा कागजात देखाउन नसकेको पछि मोटरसाइकलमा सवार राजवंशी सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
बिर्तामोड–५ का बिनोद भट्टराईको डेरा कोठा अगाडि आँगनमा पार्किङ गरी राखेको अवस्थामा मे. ९ प ९०४६ नम्बरको मोटरसाईकल हराएको थियो । उक्त मोटरसाइकल खोजतलास भइरहेको अवस्थामा २८ गते दिउँसो ३ बजे उनीहरु पक्राउ परेका हुन् ।
चौधरी र राजवंशीलाई नियन्त्रणमा लिई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

