
अनिलदेव राई
धरमपुर, ३० साउन । अत्याधिक गर्मी र वर्षासंगै झापाको शिबसताक्षी नगरपालिकामा झाडापखला, टाइफाइड, ग्याष्टिक र छाला संम्बन्धी समस्याले आउने विरामीको संख्या बढ्दै गइरेको छ ।
नगरपालिकाको वडा नं २ मंगलबारे बजारमा रहेको धरमपुर स्वास्थ्य चौकीका प्रमुख धनकुमार विश्वकर्मका अनुसार गर्मी र वर्षामा हुने हैजा सम्बन्धी समस्याले दैनिक ६०–७५ जना विरामीहरु आइरहेका छन् । उनले स्वास्थ्य चौकीमा प्रेसर, सुगर र दम लगायतका समस्याले आउने विरामीहरुको संख्या पनि उतिकै रहेको बताए । यो नसर्ने रोग हो, विश्वकर्मले भने–सर्ने र नसर्ने रोग अन्र्तगत समस्याले विरामीहरु स्वास्थ्य चौकीमा आउने गर्छन् । उनले आदीवासी, जनजाति र सन्थाल समुदायमा यस्तो समस्याहरु भएपनि धामी र झाँक्रीको भरमा गाउँमा बस्ने गरेको बताए ।
सरसफाईमा ध्यान नदिनु, स्वास्थ्य खानपान अनि सो संम्बन्धी आवश्यक चेतना नहुनु र गरिवीको कारण शारिरिक अनि मानसिक तवरले आराम गर्न नपाउदा यतिवेला मान्छेमा सर्ने रोगहरु देखा पर्ने स्वास्थ्यकर्मी विश्वकर्म बताउँछन् । उनका अनुसार स्थानीय तहबाटै जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन नगरे मान्छेमा थप ठूल–ठूला समस्याहरु बढ्न सक्ने छ ।
त्यस्तै, शिबसताक्षी–८ झिलभिलेस्थित रहेको सतासीधाम स्वास्थ्य चौकीका प्रमुख सञ्जय ठकुरीका अनुसार केहि दिन यता विरामीको संख्यामा बृद्धि भएको छ । ठकुरीले स्वास्थ्य चौकीमा आउने अधिकास विरामीमा झाडापखला, टाइफाइड, ग्याष्टिक र छाला संम्बन्धीका समस्याहरु लिएर आइरहेको बताए ।
गर्मी र वर्षामा हामीले पिउने पानीलाई ख्याल गर्नुपर्छ, ठकुरीले भने–दुषित पानीको कारण झाडापखला र छाला सम्बन्धी समस्या हुने गर्छ । केटाकेटी देखी युवा र बृद्धबद्धाहरुलाई छाला सम्बन्धी लुतो, दाद र खटिराहरु आउने गरेकोले स्वच्छ अनि शुद्ध पिउने पानि पिउनु र स्नान गर्नु पर्ने ठकुरीको भनाई छ ।
यता, नगरपालिकाको दक्षिणी वडा नं ४ जनता बजारमा रहेको पाँचगाछी स्वास्थ्य चौकीका प्रमुख श्यामप्रसाद मेहताले पनि गर्मी र वर्षामा हुने हैजा संम्बन्धी समस्याले स्वास्थ्य चौकीमा आउने विरामीहरुको चाप बढ्दै गइरहेको बताए ।
मेहताका अनुसार साविक पाँचगाछी गाविसमा आदीवासी जाति र समुदायको घनत्व रहेको क्षेत्र भएकोले गर्मी र वर्षामा हुने समस्याहरु अत्याधिक बढ्ने गरेको छ । स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु भएकोले विरामीहरुको रगत, दिशा, पिसाव र खकार परिक्षण गर्न सहज भएको मेहताले बताए ।
४ वटा गाविस समायोजन गरेर निर्माण भएको शिबसताक्षी नगरपालिमा हालः ११ वटा वडाहरु छन् । साविक धरमपुर, पाँगाछी र सतासीधाम स्वास्थ्य चौकी र शिबगञ्जमा प्राथमिक स्वास्थ्य केन्द्र छ भने वडा नं ९ र १० मा सहरी स्वास्थ्य संस्था छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

