
तित्रा
सधैंभरि गाउँ चहाहेर नौरंगी गफ चुटेर दिन बिताउने माइलाबालाई बन्दाबन्दी (लकडाउन)का कारण घरमै बसेर दिन बिताउनु पर्दा पर्नु पीर परेछ । बाबैले कसो–कसो गरेर माइलेमाको मोबाइल फेला पारेर मलाई फोन लगाएछन् । उनले फोनमा भने– ‘एइ केटा के गदैर्छस् ? घरमै छस् कि कता छस् ? घर बाहिर बाटामा निस्किस् भने त डँडाल्नु र तिघ्रामा कठबाँसले कोरोनाको खोप लगाइदेलान् नि ! अनि अर्काे कुरा, फोनमै बोल्दा पनि मुखमा लाउने कट्टु लगाएरै बोल्नु, मैले पनि कट्टु फुकालेको छुइन । क्या हो, क्या हो, सर्छ भन्छन् । अब त तलको कट्टु जस्तै मुखमा लाउने कट्टुको पनि बानी परिसक्यो । दाह्री–जुंगा नपलाउने मान्छेका पनि अब छोपेको छोपेइ गरेपछि पलाउने भयो । पछि कुनै दिन कोरोनाको हल्ला शान्त भएपछि मुखको कट्टु फुकाल्दा लाज पो हुने हो कि ? त्यसो भयो भने खर्चै बढेर जाने भो । तलको कट्टु त सस्तोमस्तो जस्तोतस्तो लाए पनि हुन्छ, सुरुवाल लाएको बेलामा नलाए पनि उत्रो फरक पर्दैन; तर मुखको कट्टु त सबैले देख्छन्, राम्रै गतिलै लाउनु पर्यो । इज्जतको कुरो आउँछ ।…’
बाबै बोलिरहे– ‘…हलो ! सुन्दैछस् ?’ मैले ‘अँ…अँ…’ भनें ।
‘म त सधैं रेडियो सुनेर बस्छु । छिन–छिनमा साबन–पानीले हात धुनु भन्छ, धुन्छु । धुँदा–धुँदा हात पनि खिइसके, हस्तरेखा समेत पखालिएर गइसके । आफ्नो त सधैंजसो गाउँ घुम्ने, बिहेबटुलो, पुराण, ब्रतबन्ध, मराउसराउ, पाठपूजा, जन्मोत्सव, फूलमाला, पार्टी, पिकनिक, मानोचामल, शुद्धाइँ आदि ठाउँमा पुग्ने, उतै भोजन गर्ने बानी परेको । अहिले त झण्डै ४ महिना भो, घरमै थुनिएर बस्ता पर्नुसम्म पीर परेको छ । पहिले–पहिले मान्छे कतिखेर घर पुगेर आराम गरौं भन्थे, तर यो घरमै बस्ने कुरो खेलाँची होइन रहेछ । यस्तो सकस चाहिं कहिल्यै भएको थिएन ।…’
बाबै बोल्न रोकिएनन्– ‘आफ्नो घरमा जे छ त्यही खानु, बाहिर नजानु भनेर रेडियो कराउँछ । धन्न…एक बोरी चामल चाहिं घरमै थियो, त्यो पनि धानकै चामल हो कि प्लाष्टिकको चामल हो, थाहा छैन । मौका छोप्ने व्यापारीले यसो चाहिं नगर्लान् भन्नु पदैर्न । चार पैसा नाफा हुने भए जे गर्न पनि तयार हुन्छन् । घरमा भएको गुन्द्रुक, सिन्की मस्यौरा, मुलाका चाना, टमाटर, कोपीका सिम्टा आदि सबै खाइसकियो । बारीका लुँडे लट्टे, फर्सीका मुन्टा चिमोट्दा चिमोट्दै अब त जरैमा पुगिसक्यो । किनिखाउँ भने पैसाको स्रोत नै सुक्यो । अब के होलाले थामेन, जे होलामा पुगियो है केटा !…’
‘…अँऽऽऽ, पैसा भन्दा सम्झिएँ– टेलिभिजनमा देखेको, त्यो इटली भन्ने देशका मान्छेले जंगलको पत्करभन्दा बढी बाटामा पैसा मिल्काएका ! नो थिङ भन्दै पैसा फ्याक्तै ! खै त्यहाँको पैसालाई नो थिङ भन्छन् कि क्या हो ? हाम्रा देशका भ्रष्ट द्रव्यपिशाचहरूले देख्नु हो भने यहीं नेपालबाटै एउटा झाडु खरेटो र ठूलो बोरा बोकेर त्यो पैसा बटुल्न तँछाडमछाड गर्दै पुग्थे होला ! पैसाले अन्न–पानी किन्न पाउन छाडेपछि, ओखति नपाएपछि जाबो पैसो त कागज पो हुँदो रहेछ त ! साँच्चै भनेको केटा ! ती बाटामा छरिएका हरिया डलर देख्ता मलाई पनि मन थामिसक्नु भएन । पैसाको खोस्टोभन्दा अन्न, पानी र औषधि ठूलो रहेछ । पैसाको धक्कू लगाउनेहरू पनि चाँदीको थालमा सुनका चामलको भात खाने होइनन् क्यार । खाने भनेको यही अन्न–पानी नै हो । कोरोना त मान्छेलाई तत्वबोध गराउन आएजस्तो छ । पर्खी है केटा, म पैसा गन्छु ।’ भनेर बाबै एकछिन बोल्न बिसाए !
एकछिनपछि उनले भने– ‘मोबाइलमा कुरा गर्दा पैसा घट्छ, सकिन्छ भन्थे । मैले यत्रो बेर तँसँग कुरा गर्दा पनि मेरा गोजीको पैसा जत्तिकोतत्ति नै रैछ । मान्छे बित्थामा अनेक कुरा गर्दा राँन् ।’ बुढाको अज्ञानतालाई मैले हाँसेर टार्दिएँ । भरे माइलेमाले कुचाको डाक्लाले बजार्दा थाहा पाउँछन्, पैसो घटेको र नघटेको ।
बाबै बोल्न थालेपछि बिसाउने होइनन्, फोन राख्ने कुरै भएन । उनी भन्दै थिए– ‘हैन होउ केटा ! यो संसार भन्नु केही होइन रहेछ । धनी शक्तिशाली देश भनेर धक्कू लगाउँदै दादागिरी गुण्डागर्दी देखाउने र संसारभरि दलबल गनेर् देशहरूको पाइन् पनि कोरोनाले देखाइदियो । ज्ञान विज्ञान चिन्तन दर्शन तर्क सबै मैले नै जानेको छु ब्रह्माण्डै निल्छु भनेर उखुपातै दम्भ पाल्ने देशहरूका हविगत र तन्नम दुर्दशा पनि देखियो । यी सबै तमाशा, मैमत्ता त कुनै प्राकृतिक प्रकोप नहुञ्जेलसम्मका लागि मात्रै पो रहेछन् । समुन्द्रको पानी मेरो, हिमालको हिउँ मेरो, आकाश पनि मेरो, सारा ग्रहहरूमा मेरो अधिकार छ, संसारभर मैं शासन गर्छु भन्नेहरू निरीह बनेको देख्ता टीठ लाग्छ । आँखाले नदेखिने सानो भाइरसले तिनका मस्तिष्कको धतुरो झार्दिएको छ ।…’
‘…बुढो भइयो, सय वर्ष पुग्न अठार–बीस वर्ष बाँकी छ । कोरोनाले पनि बुढाबुढीलाई खेदी–खेदी मार्छ भन्छन् । यो लकडाउन भन्ने पनि यो उमेरसम्म सुनेको देखेको भोगेको थिएन । हड्ताल भनौं, हड्ताल पनि होइन; खुल्ला भनौं, खुल्ला पनि छैन । कफ्र्यू त झन् हुँदै होइन । कुरै नबुझेर म त त्यसै–त्यसै चख्ल्याँस्स परेको छु हौ केटा !’
बाबैले बक्न छाडेनन्– ‘हैन होउ केटा ! चुनाव सकिएको भोलि–पर्सिको दिनदेखि कस्ले कति मत ल्यायो, को अगाडि, को पछाडि छ, कस्को धरौटी जफत भयो, को धेरै बाठो हुने भएर बल्ड्याङ खायो, कुन क्षेत्रमा कस्को बढी मत झर्यो…… इत्यादि समाचार सुने झैं लकडाउनका बेलामा कानमा रेडियो राखेर अमेरिकामा कतिले बही बुझाए, इटली स्पेन फ्रान्स बेलायत चीन ब्राजिल इण्डे… आदि देशहरूबाट कति कतिले परलोक गमन गरे भनेर सुन्ने नै अहिले मुख्य काम बनेको छ । कतै लाशका पहाड मिडियाले देखाउँछ, संसारकै बिल्लीबाठ । रोगब्याधले विश्वलाई नै निल्न आँटेका बेलामा पनि शक्तिशाली हुँ भन्ने देशहरूको निचो दर्जाको राजनीति, वाकयुद्ध, दम्भ, घमण्ड, अहंकार जस्ताकोतस्तै पो छ !’
बुढाका कुरा सुन्दा–सुन्दा मलाई पनि खसखस लाग्यो र मैले पनि हिजोआज दिन कसरी बिताउँदै हुनुहुन्छ होउ माइलाबा ? भनेर सोधेको मात्रै के थिएँ; बुढाले कैरन कोरल्न थालिहाले– ‘मान्छे दिन बिताउन गाह्रो भो भन्छन्, मलाई त भ्याइ–नभ्याइ छ । दिनभरि सुतेकोले गलेर भुतुक्क भइन्छ, बेलुका चाँडै सुत्यो, बिहान पनि चाँडै उठ्नु पर्छ । किनभने उठेपछि फेरि सुत्नलाई ढिलो हुन्छ । लकडाउनमा घरबाट बाहिर ननिस्किनु भनेको छ, भित्रै बस्यो, घरिघरि बाहिर निस्कियो, फेरि भित्रै पस्यो बस्यो । खाटमा खुट्टा पसारेर, कुर्सीमा खुट्टा हल्लाएर बस्यो, बेला–बेला बेन्चमा पनि बस्यो । यी कुर्सी बेन्ची खाटले पनि ‘एकछिन उठिदिनु न बा, म ढाड सोझ्याउँछु’ भने झैं लाग्छ । यो बेलामा कुर्सी बेन्ची खाटको पाइ–पाइ असुल गरियो ।
ओच्छयानका तन्ना र सिरानेको पनि दोहोलो । सुत्दा–सुत्दा मडारिएर दलिएर घोटिएर झड्कारेर फड्कारेर धोएर लकडाउन चार महिनामा पाँच वटा तन्ना दुलो परे । सिरानेलाई त झन् तेस्र्याएर ठड्याएर, खुम्च्याएर, डल्याएर, च्यापेर, नेप्टो चेप्टो पारेर दोहोलो नै काडियो । कोरोनाको कहर सिरानेले जति कस्ले खप्यो होला र ?’
बाबै के भन्दा राँन् भनेर मैले सोधें– अनि कोरोनाको राहत थाप्न जानु भएन ?
‘खै होउ केटा ! राहत थाप्न जाँदै पनि हुन्थ्यो । तर, चार केजी चामल दिएर चालीस जनाले दाता बनेर फोटो खिच्तै फेसबूकमा हालेको मन परेन । फेरि राहत थाप्न जाँदा भट्भटेमा चढेर, गहनागुरिया टल्काउँदै, हातमा ठूलो मोबाइल बोकेर जानुपर्दाे रहेछ; आफूसँग भने त्यस्तो केही चिज छैन, कसरी जानु र ? यो राहतका कुरा नगर है केटा !’ भनेर बाबैले निराशा ओकले ।
‘यही कोरोनाका नाउँमा कति चंखे चतुरे धूर्त सिल्लीहरूले कसरी कमाए, करोडौं करोडको करामत गरे । अब कोरोनाको आँधी रोकिएपछि बाँसका तामा उम्रिए झंै काठमाडांैमा कस–कसका कति–कति तले घर उम्रिने हुन् ! यस्ता कुरा सुन्दा सम्भिंmदा त्यसै–त्यसै रनाहा चल्छ, कन्सिरी तातेर आउँछ । देवकोटाले भने झैं यी मकाएका हड्डीमा पनि दधिचीको बल भरिएर आउँछ । टाउको बारुद भरिएको कुकुरबम जस्तो पड्किन खोज्छ । त्यसैले यस्ता कुरा मसँग नगर ! यो बेलामा बरु हँस्यौली ठट्यौली रमाइला हल्काफुल्का कुरा गर् न’ भनेर बाबैले भने ।
तर, फेरि बाबैले नै भने– ‘खै लकडाउन सकियो भन्दैछन् । कोरोना चाहिं जिउँदै छ । अहिलेसम्ममा चालीस–बयालीस जनाले कोरोनाको अवसर छोपेर चोला फेरे । लकडाउन सकियो भनेर जथाभावी बुर्कुसी मार्ने भए भने कुन दिन धुरीबाटै मुस्लो निस्किन बेर लाग्दैन ! देशमा छ भनेको चिज तिनै एउटा पशुपतिनाथ छन् । पशुपतिनाथलाई पनि कोरोना धान्न मुश्किल परेर होला, श्रीराम पनि नेपालमै आउँदैछन् अरे ! मान्छेहरू– कोरोनाले चाहिं मर्नु हुँदैन, बाँकी रोगब्याध बाढी पहिरो रोग भोक शोकले अथवा आफ्नै इच्छाले मरे पनि केही फरक पदैर्न भने झैं गदैर्छन् । साठी वर्ष नाघेका बुढाबुढीलाई चाहिं पहिरो डिलमा उभिएको मान्छेलाई पछाडिबाट यसो ठेल्दिए झैं कोरोनाले सहजै निल्छ अरे भन्दैछन् । आफू त झन् चार कोरी वर्षको मान्छे । कोनि है केटा, तँ पनि सीधा, नून र घिउ ठीक पारेर बसी राख ।’ भन्दै बुढा गन्गनाउँदै थिए – एक्कासी माइलेमा आएर – लौन नि यी बुढाले त हिजो मात्रै हालेको दुई सयको रिचार्ज सकेछन् – भन्दै मोबाइल खोसेर लगेपछि मात्रै बुढाको बोल्ती बन्द भयो ।
।। अथश्री माइलाबा कथा समाप्तम् ।।


