
झापा, २२ साउन । नेपालमा आज थप ३६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप ५ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
उनले नेपालमा जुन रफ्तारमा कोरोना संक्रमित बढेको छ त्यसलाई हेर्ने हो भने अस्पतालले धान्न नसक्ने बताए । उनले जनस्वाथ्यको मापदण्ड पालना गरी चाडपर्व मनाउन पनि सवैलाई आग्रह गरेका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ६ हजार २८६ रहेको छ । उक्त मन्त्रालयका अनुसार नेपालमा हालसम्म पीसीआर परीक्षण संख्या ४ लाख १९ हजार ५७५ पुगेको छ भने कुल डिस्चार्ज हुनेको संख्या १५ हजार ३८४ पुगेको छ ।
त्यसैगरी बिहीवारमात्रै थप २३३ जना डिस्चार्ज भएका छन् । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या ६ हजार २८६ रहेको छ । यसैगरी कुल संक्रमित मध्ये ७० दशमलव ६ प्रतिशत निको भएका छन् । हाल देशका विभिन्न स्थानका आईसोलेशनमा ६ हजार २९६ जना रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



