
बिर्तामोड, ७ भदौ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित रत्नसुपर मार्केट शील गरिएको छ ।
सुनचाँदी व्यवसायीका परिवारको दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि उक्त मार्केट शील गरिएको बिर्तामोड नगरपालिकाका कोभिड–१९ संयोजक ओम खड्काले जानकारी दिनुभयो । ‘व्यवसायीको महिला सदस्यमा कोरोना देखिएपछि मार्केट क्षेत्र शील गरिएको हो’, उहाँले भन्नुभयो, ‘सम्भावित जोखिम नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक काम कारबाही अगाडि बढाएका छौँ ।’
समुदायमा कोरोना देखिएपछि कन्ट्रयाक टे«सिनको काम शुरु भएको छ । समुदायमा कोरोना फैलिन नदिन नगरपालिकाले सुनचाँदी व्यवसायी, आसपासका अन्य व्यवसायी र जनसमुदायको पीसीआर परीक्षण गर्न लागिएको नगर प्रमुख ध्रुव शिवाकोटीले बताउनुभयो ।
‘जोखिम नियन्त्रणका लागि भदौ ९ गते स्वाब संकलनका आह्वान गरेका छौँ’, उहाँले भन्नुभयो, ‘बिर्तामोडको हेवन वाटर पार्कस्थित कञ्चनजंघा हेल्थ साइन्सको भवनमा रहेको क्वारेन्टाइनमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको छ ।’ कोरोना संक्रमण देखिएको स्थान वरपरका सबैको पीसीआर परीक्षण गरिने बताउनुभयो ।
कोरोना नियन्त्रणका लागि सबै नागरिकको भूमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । योसँगै बिर्तामोड नगरपालिकामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


