
विराटनगर, १९ भदौ । शौचालयमा लडेर घाइते भएकी मोरङको कानेपोखरीकी एक गर्भवती महिलाको विराटनगरका ७ वटा अस्पताल पुर्याउँदा पनि उपचार नपाएर मृत्यु भएको छ ।
मंगलबार राति शौचालयमा लडेकी ७ महिनाकी गर्भवती कानेपोखरी गाउँपालिका की २३ वर्षीया सविना थापा दर्जी को समयमा उपचार नपाएको कारण मृत्यु भएको हो ।
लडेपछि बाहिर चोटपटक नदेखिएपनि स्वास्थ्य अवस्था बिग्रदै गएपछि बुधबार राति सबिनालाई उपचारका लागि विराटनगर ल्याइएको थियो । तर, आफन्तले विराटनगरका सबै ठूला अस्पताल चहारे पनि भर्ना गराउन पाएनन् ।
नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङ होम, ग्रीनक्रस, सुरक्षा र कोशी अस्पतालले पनि उपचार गर्न नमानेपछि उनको अवस्था थप बिग्रिएको थियो ।
विराटनगरका कुनैपनि अस्पतालले उपचार गर्न नमानेपछि बिहीबार बिहान सविनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
प्रतिष्ठानमा उपचार सुरु गरेको केही समयमै सविनाको मृत्यु भयो । समयमा अस्पताल नल्याएकोले मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको सविनाका श्रीमान् भरत दर्जीको भनाइ छ ।
विराटनगरका अस्पतालले भर्ना लिन नमानेकै कारण ७ महिनाकी गर्भवती श्रीमतीको मृत्यु भएको भन्दै भरतले दोषीलाई कारबाहीको माग गरेका छन् । लडेर घाइते भएकी श्रीमतीलाई कोरोनाको बहानामा उपचार गर्न नमान्नु ज्यादती र चरम लापबाही भएको उनको गुनासो छ ।
एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल घुमाएपनि कसैले पनि उपचार गर्न नमानेको बरु हप्कीदप्की गरेको परिवारको भनाइ छ । अस्पतालहरुले आईसीयू र भेन्टिलेटर नभएको तथा कोरोना परीक्षण नगरेको भन्दै भर्ना गर्न नमानेको श्रीमान् भरतले बताए ।
प्रहरीका अनुसार उपचार नपाएर मृत्यु भएकी सविनाको शरीरमा बाहिरी चोटपटक भने खासै छैन । लडेर गर्भमा समस्या परेका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।
उनको मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ । पाँच वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेका सविना र भरतको पहिलो सन्तान ४ वर्षकी छोरी छन् । शिलापत्र
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



