
झापा, २१ भदौ । आज देशभर ९८० जनामा संक्रमण पुष्टि भएको छ । २९० महिला र ६९० पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ३५४ जनासहित देशभर ९८० जना संक्रमित थपिएको र यससँगै संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ । आइतबार मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
त्यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



