
काठमाडौँ, २१ भदौ । रुसले बनाएको कोरोना भाइरसविरूद्धको खोपको प्रभावकारिता बढेको छ ।
रूसी वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्। मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरिएको बीबीसीले जनाएको छ ।
खोपको वैज्ञानिक नतिजा नआइ अगस्ट महिनामा नै स्थानीय रूपमा उक्त खोप प्रयोग गर्न दिएको रूसको उक्त खोपले काम गर्नेमा आशंका गरिएको थियो । तर, यो परिणामले उक्त खोपको विश्वसनियता केही हदसम्म बढाए पनि अझै पनि यसको प्रभावकारिता र सुरक्षित रहेको प्रमाणित गर्न भने अझै अरू परीक्षण जरूरी रहेको बताइएको छ ।
गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनले आवश्यक सबै परीक्षणका मापदण्ड खोपले पूरा गरेको र आफ्नी छोरीमा पनि परीक्षण गरिएको बताएका थिए। स्पुत्निक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनामा गरिएको जनाइएको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



