
सन्तोष शर्मा
बिर्तामोड, ७ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले कृषि मन्त्रालय प्रशासन र सुशासनको युद्धमा अघि बढिरहेको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेता र कर्मचारी सुशासन नभएसम्म कृषि क्षेत्रको विकास हुने बताउनुभयो । “सबैभन्दा पहिला नेता र कर्मचारीमा सुशासन हुनु आवश्यक छ”, मन्त्री भूषालले भन्नुभयो, “मन्त्रालयमा अहिले प्रशासन र सुशासनको युद्ध चलिरहेको छ ।”
मन्त्रालयमा सुशासन ल्याएर जनताको पहुँचमा पु¥याउने र किसानलाई बलियो बनाउने योजनामा आफूहरु अघि बढिरहेको उहाँले बताउनुभयो । “ढिलासुस्ती र बद्मासी नभएका होइनन्”, उहाँले भन्नुभयो, “त्यसको अन्त्य गरेर अब जनताको पहुँच स्थापित हुन्छ ।”
कृष क्षेत्रसँग जोडिएका हरेक क्षेत्र नयाँ व्यवस्था ल्याउन मन्त्रालय लागिपरेको उहाँको भनाइ छ । “संविधानप्रदत्त व्यवस्था अनुसार कृषिलाई समय र युग सापेक्ष बनाउने नयाँ व्यवस्थामा हामी लागेका छौँ”, उहाँले भन्नुभयो, “कृषि कर्म गरेर न्यूनतम् आवश्यकता पूरा गर्न सक्ने र कृषि क्षेत्रबाट पलाउन हुनुपर्ने अवस्थाको अन्त्य अब हुनेछ ।”
कृषि बीमा, आधुनिक कृषि प्रणाली, न्यूनतम् समर्थन मूल्य लगायत कृषिसँग जोडिएको कुरामा विशेष काम भइरहेको मन्त्री भूषालको भनाइ छ । उहाँले संविधानले दिएको निर्देशन अनुसार अहिले कृष क्षेत्र अघि बढिरहेको उल्लेख गर्नुभयो । मन्त्री भूषालले कृषि क्षेत्रमा सयौँ समस्या रहेको बताउँँदै त्यसलाई क्रमशः निराकरण गर्दै लगिने बताउनुभयो ।
एक फरक प्रसंगमा मन्त्री भूषाले संविधान कार्यान्वयन अहिलेको मुख्य चुनौतीको रुपमा देखिएको बताउनुभयो । “मुलुकलाई समृद्ध र समाजवादको दिशातर्फ अघि बढाउन संविधान कार्यान्वयन मुख्य कुरा हो”, उहाँले भन्नुभयो, “सरकार संविधान कार्यान्वयनको आधारभूत दिशातर्फ अघि बढिरहेको छ ।” नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताउँदै मन्त्री भूषालले त्यसमा केही कमीकमजोरी भए क्रमशः सच्याउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


