
बिर्तामोड, ११ असोज । एकीकृत सिद्धी खोला बाहुनडाँगी बृहत खानेपानी आयोजनालाई कार्यान्वनमा ल्याउन आज वृहत् अन्तरिक्रया गरिएको छ ।
मेचीनगर–१ स्थित बाहुनडाँगीको प्रांगणमा भएको अन्तरक्रियामा परियोजना परिकल्पनाकार एवम् झापा क्षेत्र नं. १ का संघीय सांसद् राम कार्की (पार्थं)को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सांसद् कार्कीले एकीकृतको मतलब केवल खानेपानी आयोजनाको जमघट मात्र नभई मान्छे र प्रकृतिको सम्प्रतिसहित मान्छेका आधारभूत आवश्यकतासहित प्रकृतिबाट प्राप्त गर्ने प्रणाली भएको बताउनुभयो ।
बाहुनडाँगीमा १९ वटा भन्दा बढी खानेपानी आयोजना सञ्चालित छन् । प्रायः टोलैपिच्छे खानेपानी आयोजना भएकाप्रति उहाँले काजगको डल्लो बनाएर हान्यो भने खानेपानी उपभोक्ता समितिका सदस्यलाई लाग्छ भन्दै ठट्टा समेत गर्नुभयो ।
“एकीकृत खानेपानी आयोजनाले सबैलाई एउटै छातामा आउन मद्दत गर्नेछ”, उहाँले भन्नुभयो, “त्यसैले एकीकृत खानेपानी आयोजनाको समिति निर्माण गर्न र असल नेतृत्व चयन गर्न यहाँका जनतालाई आह्वान गर्छु ।” साथै, महिलाहरुको दैनिक क्रियाकलापसँग पानीको विशेष रुपमा जोडिने भएकाले समिति बनाउँदा महिलाको उपस्थिति बाक्लो बनाउन सुझाव दिनुभयो ।
आयोजनालाई बहुउद्देश्यीय रुपमा लैजान प्राविधिक सल्लाह गर्ने र मन्त्रालयमा समेत लान पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । टनेलबाट सिद्धि खोलाको पानी ल्याएर विद्युत् उत्पादन, सिद्धि नहर सिँचाइको मुहान खानेपानीको लागि समेत प्राविधिकहरुसँग सल्लाह गर्ने उहाँले बताउनुभयो ।
बाहुनडाँगी खानेपानीका अध्यक्ष सनत अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद्द्वय गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली कांग्रेस मेचीनगर सभापति इन्द्र बुढाथोकी, संघीय खानेपानी आयोजनाका इन्जिनियर नविन लुइँटेल, सिद्धि नगर अध्यक्ष निलकण्ठ तिवारी, राप्रपा प्रदेश सदस्य रमेश दाहाल, मेचीनगर १ नम्बर वडाध्यक्ष पासाङ तामाङ, बाहुनडाँगी खानेपानीका उपाध्यक्ष मेघराज खड्का लगायतले एकीकृत खानेपानी आयोजनाको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।


झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


