
ताप्लेजुङ, ४ भदौ । बर्षदिन पुग्न लागेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर मारेको अभियोग लागेकी २० बर्षीय आमा कमला बिक माथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर गर्ने तयारी गरेको छ ।
ताप्लेजुङ जिल्ला अदालतबाट अनुसन्धानका लागि आईतवार ७ दिनको अनुमति पाएको प्रहरीले अनुसन्धान प्रकृया सुरु गरिसकेको म्यादभित्रै अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले अनुसन्धानबाट प्राप्त नतिजाका प्रारम्भिक संकेतले कमला माथि कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर हुने जानकारी दिए ।
पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारी भन्ने स्थानमा गत साउन ३० गते प्रयोगमा आउन छाडेको शौचालयको सेफ्टी ट्याङ्की भित्र बच्चा रहेको जानकारी स्थानीयले पाएपछि प्रहरीलाई खबर गरेका थिए । सो भन्दा ५ दिन अघिनै बच्चालाई कुटपिट पछि सेफ्टी ट्याङ्की भित्र हालेर आमा कमला फरार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ५ दिन पछि भेटिएका जुम्ल्याहा बच्चा मध्ये एकजना जीवित र एकजना मृत भेटिएका थिए । लगभग ९६ घण्टा सम्म जीवित रहेको एक बच्चालाई उपचारका लागि झापाको बिर्तामोड लगिएपनि बच्चालाई बचाउन नसकिएको प्रहरीले बताएको थियो ।
जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार रहेकी आमा कमलालाई ताप्लेजुङ प्रहरीले घटना सार्वजनिक भएको दुईदिन पछि नै सुनसरीको तरहराबाट नियन्त्रणमा लिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

