
लीलाराज झापाली
बिर्तामोड, २५ कात्तिक । झापामा एकका लागि एक अभियानले बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ ।
कोरोना भाइरसका संक्रमित बढ्दै गएर अस्पतालमा समेत बेड अभाव हुन थालेपछि घरमै उपचारमा सहयोग पुर्याउन अभियानले अक्सिजन बैंक स्थापना गर्ने निर्णय गरेको हो । सोमबार बसेको अभियानको जुम बैठकले केही दिनमै अक्सिजनका सिलिन्डरको भण्डारण गर्ने निर्णय पनि गरेको छ ।
अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड सूचना तथा सहायता केन्द्रको स्थापना गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, अशक्त तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै घरमै पुगेर स्वाब संकलन गर्ने अभियानको बैठकले निर्णय गरेको छ ।
अभियानले यसअघि झापाको कनकाईमा पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । एक करोड २ लाख ५६ हजार ८०४ रुपैयाँको लागतमा अत्याधुनिक प्रयोगशाला स्थापना गरेको अभियानले प्लाज्मा बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई ११ लाख रुपैयाँ प्रदान गरेको अध्यक्ष गिरीले बताउँनुभयो ।
अभियानका सहसंयोजक विनोद बस्नेतले औचित्यमाथि प्रकाश पारेको बैठकमा सदस्यहरु नविन पोखरेल, कुमारमणि पोखरेल, गोपाल ओली, हरि शर्मा, सजेश शिवाकोटी, एकराज गिरीलगायतले धारणा राखेका राख्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



