
बिर्तामोड, ८ भदौ । कार्यालय खारेज भएपनि झापाका दुईवटा सरकारी कार्यालयको नयाँ भवन भने निर्माण भईरहेको छ । केन्द्र सरकार मातहतमा रहेका धेरै सरकारी कार्यालयहरु सँगै जिल्ला कृषि विकास कार्यालय र डिभिजन सहकारी कार्यालय पनि खारेज भएका थिए । तर पनि ति कार्यालयको नयाँ भवन अहिले निर्माणधीन अवस्थामानै रहेका छन् ।
कृषि विकास कार्यालयले करिब ४ करोड २० लाख बराबरको लागतमा नयाँ तीन तले भवन निर्माण गरिरहेको छ भने सहकारीको चार तले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । सहकारीले सो भवन निर्माणका लागि साढे चार करोड बराबरको लगानी गरेको छ ।
कार्यालयहरु खारेज हुने निर्णय अघिनै भवन निर्माणका लागि बजेट छुट्टिएको र भवन निर्माण सुरु भईसकेकाले निर्माण सम्पन्न गर्नुपर्ने बाध्यताका कारण भवन निर्माण भईरहेको जिल्ला कृषि विकास कार्यालय झापाका सहायक प्राविधिक शालिकग्राम भट्टराईले बताए । ‘पुरानो योजना अनुरुप काम भईरहेको हो, उनले भने – कृषि कार्यालय नरहे पनि अन्य कार्यालयका लागि भवन उपयोगी होला ।’
उनका अनुसार झापामा धान सुपरजोन लगायतका कृषि सँग संबन्धित ठुलो कार्यक्रम रहेकाले तिनिहरुका कार्यालय नयाँ भवनमा बस्ने संभावना रहेकोछ । यस अघि जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकास कुमार डाँगीले कृषि कार्यालयको नाममा कार्यालय नरहे पनी कृषि सँग संबन्धित अन्य कुनै कार्यालय राख्ने बिभागको तयारी रहेको बताएका थिए । खारेजीमानै परेको जिल्ला शिक्षा कार्यालय पनि केहि वर्ष अघि मात्र आफ्नो नयाँ भवनमा सरेको थियो ।
संघियता सँगै खारेजिको निर्णय गर्नु अघि झापाका अधिकाँस पुराना संरचना भएका सरकारी कार्यालयहरुले आफ्नो नयाँ भवन निर्माण गर्न सुरु गरेका थिए भने केहिले नयाँ भवन निर्माण गरी काम गरिरहेका थिए । सरकारी वकिलको कार्यालय, नापीजस्ता संघ मातहतमै रहने कार्यालयहरू समेत धमाधम नयाँ भवन निर्माणमा व्यस्त छन् ।
संघ मातहतका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला हुलाक कार्यालय, मालपोत र निर्वाचन कार्यालय करिब एक वर्षदेखि नयाँ भवनमा छन् । झापाका अधिकांश सरकारी कार्यालय ३० देखि ४० वर्ष पुराना रहेका थिए । ०७२ वैशाख १२ को भूकम्पले मालपोत, शिक्षा, जिल्ला प्रशासनलगायत केही कार्यालयमा ठूलै क्षति समेत पु¥याएको थियो ।
क्षति पु¥याएका नयाँ भवन मर्मत गरि अहिले पनि सञ्चालनमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय जिल्लाका सरकारी कार्यालयमध्ये सबभन्दा पुरानो र जीर्ण कार्यालय भवन भएका कार्यालय मानिन्छ । यी भवन २०२५ सालपूर्व निर्माण भएको बताईएको छ । दुवै कार्यालयले अहिले नयाँ भवनमा सरेर कार्य सम्पादन सुरु गरिसकेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

