
झापा, १७ फागुन । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान शुरु गर्न लागेको छ ।
पचपन्न वर्षभन्दा माथिका अनुमानित सङ्ख्या ५१ लाख ६४ हजार २६९ का लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । यो कूल जनसङ्ख्याको १७ प्रतिशत हो । यस समूहलाई दोस्रो चरणमा आगामी जेठ १७ गतेदेखि ५ गतेसम्म खोप लगाउने सरकारको तयारी छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ सरकारका तर्फबाट व्यवस्थापन र समन्वय गर्नेछ भने स्थानीय तहले आफ्ना स्वास्थ्य कार्यालय र जनशक्तिलाई परिचालन गर्नेछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताउँदै विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेको स्थितिमा नेपालमा पहिलो प्राथमिकता प्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकता प्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको जनाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



