
तित्रा
गोठालो आएर भेडाको खोरको दैलो उर्घादियो । रातभरि खोरमा थुनिएका, कुँजिएका, चेप्टिएका, कोचिएर अँटाएका भेडाहरु बाहिर निस्किएर आँङ ताने, दिसा पिसाब गरे, मसिना पाठा बुलुर्क उर्फिए, उपध्रे खालकाले यसो उपाध्रो पनि देखाए, सिङवाला ठुला थुम्बाहरुले जिस्किँदै जुधेर सिङको चिलाइ मारे । कुनैले लडिबडी खेलेर आँङका उपिँया झारे । एकछिन पछि भेडाहरुले गोठालोको मुखतिर हेदैर् खानेकुराको आशा गरे । त्यसबेला सम्ममा अकोर् गोठालोले नुन भुस ठिक पारिसकेको थियो । ल्याएर ठाउँ ठाउँमा थुपार्दियो । भेडाहरुले पार्टी नेताहरुले आफ्ना कार्यकर्ता र रंगमेल भएका मान्छेलाई निःशुल्क भोजनका निम्ति बुक गरेको होटलमा एकैचोटि धेरै जना झुम्मिएर खाए झैँ नुन भुस खाए । नुन खाएपछि कुखुरो मात्रै लत्रिने होइन रहेछ भेडाहरु पनि गोठालाका अगाडि लत्रिए ।
भेडाहरु लाइनमा आएको बुझेपछि गोठालोले भेडाहरुलाई परेड खेलाउन सुरु गर्यो । गोडा फार ! सतर्क ! गोडा फार ! सतर्क ! भेडाहरुले भने अनुसार नै गरे । दायाँ फर्की ! बाँया फर्की ! उत्तर फर्की ! दक्षिण फर्की ! भेडाहरु पनि भने अनुसार फर्की रहे । गोठालोले धेरै पटक बसउठ पनि गरायो । गोठालोले उच्च स्वरमा भन्यो– अब म केही कुरा भन्छु तिमीहरुले जिन्दावाद ! मुर्दावादको नारा लाउनु पर्छ । कुरो बुझ्यौ ? सबै भेडाहरुले बुझ्यौ भन्ने भाव दर्शाउन एक स्वरमा भ्या ऽऽऽ भ्या ऽऽऽ गरे । प्रतिगमन– भ्या ऽऽऽ , नालायक सरकार–भ्या ऽऽऽ, सरकार प्रमुख–भ्या ऽऽऽ, गणतन्त्र– भ्या ऽऽऽ ।
यत्तिकै गोठालाहरुका मालिकको आगमन भयो । गोठालोले सबै भेडाहरुलाई मालिकको जय जयकार गर्न अह्रायो । भेडाहरुले पनि उच्च स्वरमा धेरै पटक भ्या ऽऽऽ, भ्या ऽऽऽ, भ्या ऽऽऽ गरिरहे । भेडाहरुको गगनभेदी भ्या ऽऽऽ, भ्या ऽऽऽ पछि मालिकको आर्शीवचन, अमृतवाणीको वर्षा सुरु भयो वर्षा सँगसँगै केही असिना पनि झरे । मालिकले आफ्नो भाषण सुरु गर्नु अगाडि एकपटक फेरि जिन्दावाद र मुर्दावादको नारा घन्काउन अह्राए – प्रतिगमन–भ्या ऽऽऽ, लोकतन्त्र–भ्या ऽऽऽ, गणतन्त्र–भ्या ऽऽऽ, प्रजातन्त्र–भ्या ऽऽऽ, नालायक सरकार–भ्या ऽऽऽ ।
मालिकको भाषण सुरु भयो–बगालमा, बथानमा भेला हुनुभएका बगालिएका सम्पूर्ण भेडाहरु, गोठाला साथीहरु, सिङ बटारिएका थुम्बाहरु माउहरु, कलिला पाठा पाठीहरु, बेतबसेका बुढीमाउहरु सबैमा एकमुष्ट भ्या ऽऽऽ को अभिवादन गर्दछु । अहिले देशलाई तपाईंहरुको सख्त खाँचो छ । आन्दोलन संघर्ष र बलिदान गनेर् बेला आएको छ । तपाईंहरु वषौर्ं वर्षदेखि इलामे, गन्धे झार, तितेपाती खाएर बाँच्नु भएको छ । तपाईंहरुको सहयोगले यो आन्दोलन सफल भयो भने हामी तपार्इंहरुलाई सुविधाजनक टाट्नाभरि टाँकी खन्यु, कोइरालो, कटहर बड्हर खरीको डाँले घाँस र खरुकी बन्सो जस्तो भुई घाँसको बन्दोबबस्त गनेर् छौँ । मुख मिठ्याउँदै सबै भेडाहरुले भ्या ऽऽऽ गरेर खुसी प्रकट गरे । मालिक केही उत्तेजित हुदैँ– त्यति मात्रै होइन, घाँसका अतिरिक्त मकै, गहुँ को दाना, बजारे मिठो ब्रान्ड, पकाएर नुन हालेर बनाएको मिठो खोले समेत पेटभरि खुवाउने छौँ । आशावादी भेडाहरु प्रफुल्ल हुँदै भाषणकै बीचमा भ्या ऽऽऽ गरेर कराए । केही भेडाहरुको जिब्रोबाट राल पनि चुहियो ।
भेडाहरु ! यो बलिदान गर्ने समय हो, बलिदान गर्न कोही पछिपर्नु हुँदैन । जीउमा तागत भएका, आँङमा मासु भएका, आँट हिम्मत भएका सम्पूर्ण भेडा साथीहरु देशको भविष्यको निम्ति, नेतृत्वको उन्नयनका निम्ति र तिमीहरुकै भलाइका लागि पनि आन्दोलन, संघर्षमा जुटेर एकपछि अकोर् गदैर् बलिदानको निम्ति तयार हुनै पर्छ । हामी तयार छौँ भन्ने भाव जनाउन भेडाहरुले भ्या ऽऽऽ गरे ।
चर्तुविद्याका धनी मालिकले अगाडि भन्दै गए– भेडाहरु अरुबाट थिचिएको, दलिएको, हेपिएको मुख्य कारण तिमीहरुको शरीरमा भएको धैलोमैलो घुङ्रिङ् परेको भुत्लाको कारण हो । यसलाई खुर्किएर खौरेर सनक्क पार्नु पर्छ । त्यसपछि तिमीहरु बाख्रा भन्दा राम्रा हुने छौ । दुनियाँमा धर्म, परम्परा, संस्कार, आस्था, मूल्य, मान्यता, विश्वास सबै परिवर्तन भइसक्ता पनि तिमीहरु तिनै भुत्ला लिएर बस्यौ भने कसरी उभो लाग्छौ ? भेडाहरुले हो भन्ने स्वीकार जनाउँदै भ्या ऽऽऽ गरे । लाइन लगाएर सबै भेडाका भुत्ला काटेर बोरामा हालेपछि त्यो ऊन भयो । ऊनका बोरा अगाडि लगाएर मालिकको फिर्ती सवारी भयो । गोठालोले मालिकको जय जयकार गर्न लगाए भेडाहरुले भ्या ऽऽऽ गरे । शरीर नाङ्गो भएपछि जाडोले काप्तै पाठापाठीहरु भाउसँग घुस्रिए, बोका पाठी टाँसिएर बसे, बुढीमाउहरु विरक्तिएर कराए, भ्या ऽऽऽ ।
मालिक हिँडेपछि गोठालोले आदेश गर्यो– भेडाहरु गगनभेदी नारा लगाउ, बलिया सिङ हुनेहरु उफ्रिँदै अर्का बथानमा जाइलाग भेडिया धसानका निम्ति सबै तयार होउ । भेडिया धसान भन्ने शब्दको अर्थ नबुझेर अलिक अल्मलिदै, के हो भेडिया धसान भन्ने प्रश्न सूचक स्वरमा भेडाहरुले भ्या ऽऽऽ गरे । गोठालोले भेडाहरुले आसय बुझ्यो र भन्न थाल्यो । भेडा भएर भेडिया धसान नबुझ्ने ए भेडाहरु हो लौ सुन – भेडिया धसान भनेको हामी कुनै एउटा भेडोलाई भिरबाट लडाइ दिन्छौ त्यसपछि तिमीहरु आफैँ जाँदै भिरबाट हाम फाल्नुपर्छ । एउटा भेडोलाई घँचेटेर अगेठमा हामीले ठेल्दिएपछि तिमीहरु पालैपालो आफैँ आगोमा होमिनु पर्छ । बाटो छोडेर कुनै एउटा अगुवा भेडो बाघको गुफातिर लाग्यो भने पछाडि सबै भेडा त्यतै जानु पर्छ । कुनै भेडोलाई गोही बस्ने झिल तलाउ नदीमा हुत्यादिए पछि सबैले आफैँ गएर फाल हान्नु पर्छ । हामी सबैलाई ठेल्दैनौ, घचेट्दैनौ, हुत्याउदैनौँ एउटालाई बाटो देखाएपछि सबैले त्यसै गर्नुपर्छ । भेडिया धसानको आन्दोलन, संघर्ष, बलिदान गर्नुपर्छ । भविष्यका निम्ति, देशका निम्ति, नेतृत्वको भलाइको निम्ति र तिमीहरु भेडाकै मुक्तिका निम्ति भेडिया धसान अतिआवश्यक छ । भेडिया धसान शब्दको अर्थ खुलस्त भएको आसय व्यक्त गदैर्, बलिदानको निम्ति तयार हुने प्रतिबद्धता जाहेर गदैर् खुसीसाथ सबै भेडाहरुले एक साथमा भ्या ऽऽऽ गरे ।
गोठालोले भन्यो– नरम घाँस, दाना, खोलेको व्यवस्था हामी गछौर्ं । सिंहदरबार घेर्न काठमाडौँ जानु पर्छ । सुनेको तर नदेखेको सिंह शब्दले भेडाहरु डराए जस्ता देखिए । गोठालोले तुरुन्त आश्वास्त तुल्याउँदै सोध्यो–तिमीहरुले सिंह देखेका छौँ ? छैन भन्ने भाव जनाउँदै भेडाहरुले भ्या ऽऽऽ गरे । गोठालोले मनमनै सोच्यो– सिंह देख्या भए अहिलेसम्म कहाँ यहीँ हुन्थ्यौ त ! गोठालो हाँस्तै गरेको उसको हड्डीको हाँसो लुकाउँदै भन्यो– सिंहको सिङ हुँदैन मुडुलो हुन्छ तिमीहरुका छिप्पिएका बटारिएका सिङ छन् डराउनु पदैर्न । दाह्रा नङ्ग्राका कुरा उसले आफैँ चबाएर निल्यो । तिमीहरुका सिङका अगाडि सिंह केही होइन । भेडाहरु हँ हामी नै बलिया छौँ भन्ने भावले बहादुरीको भ्या ऽऽऽ गरे ।
अहिले भेडा र तिनका गोठालाहरुको खबर जताततै पुगेछ क्यार जन्ती गए पनि, मलामी गए पनि, हाट घाट जहाँ गए पनि, मन्दिरमा भट्टीमा जता कान थापे पनि, चिलगाडी चडे पनि बस चडे पनि भ्या ऽऽऽ भ्या ऽऽऽ को स्वर बाहेक अरु केही सुन्न कसैले पाएका छैनन् । प्राय पत्रिकाहरुमा भ्या ऽऽऽ, भ्या ऽऽऽ नै छापिन थाल्यो । धेरै जसो एफएम हरुमा पनि भ्या ऽऽऽ, भ्या ऽऽऽ नै बज्न थाल्यो । कतिपय टिभीहरुले सिङ बटारिएका थुम्बाहरुलाई नै अगाडि सारेर देखाए । सामाजिक सञ्जाल सबै भ्या ऽऽऽ, भ्या ऽऽऽ ! हैरान हत्तु ! सपना त आफैँ देख्नु पनेर् हो ! अरुले देखाइदिएको सपनाको हरियो घाँस भेडाहरुले कहिले प्राप्त गर्नु ? मोटा बलिया थुम्बाहरुको बलिदानले गोठालो मेटाउँछ भन्ने कुरा भेडाहरुले कहिले बुझ्नु ? भेडा भेडा जुधेर सिङ भाँचेर रगतपच्छे भएको रमिता र तमासा हेरेर गोठालाहरु मनोञ्जन लिन्छन् भन्ने गुह्य बबुरा भेडालाई के थाहा ? आफूलाई नाङ्गै पारेर ऊन जति खौरेर लगेर गोठालो न्यानोमा निदाएको रहस्य भेडालाई कहिले कसले बताइदिने ?
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



