
बिर्तामोड, २२ फागुन । कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तरगत दोस्रो चरणमा झापाका ५८ हजार ५१३ जना ज्येष्ठ नागरिकलाई खोप लगाइने भएको छ ।
जिल्लाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्लाका १५ वटा स्थानीय तहमा दुई चरणमा खोप दिन लागिएको हो ।
फागुन २३ गतेदेखि २७ गतेसम्म पहिलो चरणमा माइपूर्वका आठ स्थानीय तह भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, कचनकवल, हल्दिबारी, बाह्रदशी र बुद्धशान्तिका ३४ हजार ४५६ जनालाई खोप दिइने प्रमुख पौडेलले बताउनुभयो ।
त्यस्तै, चैत १ देखि ५ गतेसम्म दोस्रो चरणमा माइपश्चिमका सात स्थानीय तह कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, कमल र गौरीगञ्जका २४ हजार ५७ जना ज्येष्ठ नागरिकलाई खोप दिइने छ ।
“शुरुमा जिल्लाका ५५ वर्षमाथिका १ लाख १४ हजार जनालाई खोप दिने लक्ष्य राखेका थियौँ”, उहाँले भन्नुभयो, “सरकारले खरीद गर्न लागेको ४० लाख डोज खोपमध्ये २० लाख मात्र आएकाले उच्च जोखिममा रहेको उमेर समूहलाई लक्षित गरेर खोप दिन लागिएका हो ।”
खोप लगाउन जिल्लाभर ६० वटा खोप केन्द्र र ३५० वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ भने खोप अभियान पूरा गर्न १५० दिन लाग्ने कार्यालयले जनाएको छ । प्रत्येक पालिकामा एक जना एमबीबीएस डाक्टर समेत परिचालन गरिने जनाइएको छ ।
स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चौलागाईंले खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि जिल्लाका चार वटा अस्पताललाई रेफरल सेन्टरका रुपमा तयारी अवस्थामा राखिएको बताउनुभयो । मेची प्रादेशिक अस्पताल भद्रपुर, मनमोहन हस्पिटल बिर्तामोड, आम्दा अस्पताल दमक र दमक अस्पताललाई रेफरल सेन्टर बनाइएको छ । खोपको असर काट्ने औषधि समेत स्वास्थ्यकर्मीसँग तयारी अवस्थामा रहने उहाँले बताउनुभयो ।
कोभिडशिल्ड खोप पूर्ण सुरक्षित भएकाले कुनै पनि प्रकारको भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । “अधिकांश ज्येष्ठ नागरिकमा दीर्घ रोग भएकाले उहाँहरु कोरोना भाइरसको उच्च जोखिममा हुनुहन्छ”, उहाँले भन्नुभयो, “त्यसैले उहाँहरुलाई प्राथमिकतामा राखेर खोप लगाउन लागिएको हो, घरदैलोमै पुगेर खोप दिने अभियान सञ्चालन गर्न लागिएको छ ।”
जिल्लामा पहिलो चरणमा (फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, जनप्रतिनिधि, कर्मचारी लगायतलाई) ९ हजार १६७ जनालाई कोरोनारिुद्धको खोप लगाइएको थियो । जसमध्ये ३ हजार ७९ महिला र ६ हजार ८८ पुरुष रहेका थिए । सो बेला कसै–कसैलाई सामान्य ज्वरो आउने, खोप लगाएको हात सामान्य दुख्नेबाहेक कुनै पनि असर नदेखिएको कार्यक्रम संयोजक चौलागाईंले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



