
सन्तोष शर्मा
बिर्तामोड, १२ चैत । झापामा क्षयरोग निको हुने दर उच्च रहेको पाइएको छ ।
झापामा क्षयरोग निको हुने दर ९०.१ प्रतिशत रहेको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा क्षयरोग निको हुने दर बढ्दै गएको उहाँले बताउनुभयो । “झापामा रोगी पत्ता लगाउने दर पनि १०३ प्रतिशत छ”, उहाँले भन्नुभयो, “जसले गर्दा रोगीको पहिचान र उपचार प्रभावकारी भइरहेको छ ।”
आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा चार सय महिला र ७१० पुरुष गरी एक हजार ११० जना क्षयरोगी फेला परेका थिए । चालू आव २०७७÷०७८ को फागुन मसान्तसम्ममा ३७३ महिला र ६३० गरी एक हजार तीन जना नयाँ क्षयरोगी फेला परेका छन् ।
जिल्लाको बिर्तामोड, दमक र मेचीनगर नगरपालिकामा क्षयरोग संक्रमण धेरै रहेको संयोजक चम्लागाईंले बताउनुभयो । झापामा धुलाबारी स्वास्थ्य केन्द्र र मेची प्रादेशिक अस्पताल भद्रपुरबाट क्षयरोग परीक्षण तथा सबै सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि वितरण हुँदै आएको छ ।
बालबालिकामा देखिने क्षयरोग पहिचान र निदानका लागि जिल्लाका तीन अस्पताललाई केन्द्र तोकिएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुर, दमक अस्पताल र बीएण्डसी अस्पताल बिर्तामोडलाई केन्द्र बनाइएको संयोजक चम्लागाईंले बताउनुभयो । यी तीन अस्पतालमा बालबालिकामा क्षयरोग परीक्षण र निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।
त्यस्तै, झापामा क्षयरोग निवारणका लागि सरकारी–निजी साझेदारी कार्यक्रम सञ्चालनमा छ । निजी अस्पतालहरुमा समेत रोग पत्ता लगाउने, औषधि वितरण गर्ने काम भइरहेको उहाँले बताउनुभयो । “क्षयरोग परीक्षण गरिने ल्याबहरुको समेत स्तरोन्नती गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “शंका लागेका व्यक्तिको खकार संकलन र कुरियर गरेर समेत जाँच गर्ने व्यवस्था गरिएको छ ।” अधिकांश एचआईभी संक्रमित व्यक्तिमा क्षयरोगको जोखिम उच्च हुने भएकाले एचआईभी र क्षयरोग दुवैको परीक्षण गर्ने गरिएको छ ।
औषधिले काम गर्न नसक्ने अवस्थामा पुगेका क्षयरोगी (ड्रग रेसिडेन्ट भिबी) पत्ता लगाउने र उपचार गर्ने काम भइरहेको छ । मेची प्रादेशिक अस्पताल भद्रपुर, धुलाबारी स्वास्थ्य केन्द्र र अनारमनी स्वास्थ्य केन्द्रबाट यसप्रकारको क्षयरोगीको परीक्षण हुँदै आएको छ ।
नेपालमा बर्सेनि ४५ हजार नयाँ क्षयरोगी फेला पर्ने गरेका छन् भने छ हजार छ सय जनाको मृत्यु हुने गरेको चम्लागाईंले बताउनुभयो । नेपालमा दैनिक १२३ जना नयाँ संक्रमित फेला पर्ने गरेको छ भने १८ जना संक्रमितको मृत्यु, ३४ जना संक्रमित सम्पर्कविहीन हुने गरेको तथ्यांक रहेको उहाँले बताउनुभयो । विश्वबाटै सन् २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्य रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



