
तित्रा
आमा छोरा मिलेर बाबुको हत्या । स्काभेटर चालकले महिलालाई जिउँदै पुर्यो । होटलमा महिलासँग सुतेका वडाध्यक्ष पक्राउ । जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ । राईको मृत्युपछि पाँच जना पक्राउ । एटीएम मेसिन फुटाउने पक्राउ । प्रहरी कार्यालयमै दलाल गनेर् पक्राउ । यी समाचारका शीर्षकहरु कुनै स्थानीय पत्रिकामा छापिएका एक दिनका खबर हुन् ।
यस अखबारको आँखीझ्यालबाट देशलाई नियालेर हेर्न सकिँदो रहेछ । बिरालो हेरेपछि बाघ हेर्नु पदैर्न भन्छन् । आकारले ठूलो होला, रंगले फरक पर्ला । शिकारको मात्रा तलमाथि हुन सक्छ । ओडार र घर बसाइ फरक पर्न सक्छ तर बाघ र बिरालोको प्रवृति, धर्म, जाति, मति एउटै हुन्छ । माथिका समाचारका शीर्षकहरुले मुख्य गरी तीन वटा कुराको संकेत गरेको छ ।
पहिलो संकेत रक्सी हो । रक्सी खाएर मस्तिष्क मठुरिएपछि मान्छेले जत्रोसुकै जेसुकै अपराध हिंसा गर्न सक्छ । त्यो रक्सी हाम्रो देशमा जहाँ जस्तोसुकै ठाउँमा पुगेपनि उपलब्ध छ । केही नपाउने ठाउँमा पनि रक्सी पाइन्छ । धेरै ठाउँमा पानी पाइँदैन । अरु औषधी पाउनको निम्ति त कतै टाढा धाएर जानु पर्छ । नुन, तेलको निम्ति दुर्गम गाउँ–ठाउँमा हाटको दिन पर्खिएर एक दिनको बाटो हिँडेर पुग्नुपर्छ । तर, रक्सी जाँड जतासुकै छताछुल्ल उपलब्ध छ । शहर बजारमा त प्रत्येक पसलमा जसो रक्सी बेच्न राखिन्छ । औषधि पसलमा समेत रक्सी भेट्न सकिन्छ । रक्सी खोज्ने मान्छे धेरै छन् । यसको बिक्री वितरणमा धेरै नाफा छ ।
हाम्रो सरकारले पनि रक्सीको कारोबार र बिक्री वितरण रोक्न चाहँदैन । यसबाट सरकारलाई धेरै कर प्राप्त हुन्छ अरे ! विदेशी देशी रक्सीका डिलरहरु व्यापारीहरु सरकारको आड लिएर, सरकारी मान्छेलाई प्रफुल्ल, तृप्त बनाएर, आफ्नो धर्म संस्कार, परम्परा अनुसार देवतालाई चढाउन बनाएको रक्सी बडो बहादुरीका साथ पोखन–ढोलन गरेर फुली थप्छन् । अरबौँ रकम तिरेर खरिद गनैर् पनेर् हो भने यही उत्पादन गरेर आत्मनिर्भर हुन किन नदिएको हो । कहिल्यै कुरो बुझिएन । होइन भने यसलाई सम्पूर्ण रुपमा बन्देज गरेर अवैधानिक घोषणा गर्न किन नसकेको ? के ले छेकेको ? रक्सीको कर भन्दा कयौँ गुणा जीउ धनको नोक्सान भइरहेको छ । घर झगडा, पारिवारिक विखण्डन, लोग्ने स्वास्नी छुटानाम, बालक बृद्धको बिचल्ली, सम्पत्तिको नाश, आपराधिक कार्यको बढोत्तरी, महिलाहरुको हुर्मत यी सबै जोड्नु हो भने सरकारले रक्सीको नाउँमा जम्मा गरेको रकम भन्दा कयौँ गुणा बढी नोक्सानी र विकृति भइरहेको छ ।
माथिका समाचारहरुका शीर्षकले संकेत गरेको अकोर् पक्ष हो यौन । यौन जैविक कुरा, आवश्यक कुरा भए पनि यसको अव्यवस्थापन, यस भित्रको दुराचार, सामाजिक विकृति यौनकै कारण निम्तिएको अपराध, क्षय भइरहेको आर्थिक पक्ष, एक आपसमा शत्रुता, बैमनस्य रिसइवी आदि कारणले सामाजिक मर्यादामा स्खलन मात्रै भइरहेको छैन, आपराधिक कार्यको गुणात्मक बृद्धि भइरहेको छ । यस्तो प्राकृतिक विषयमा बन्देज लाउन सकिन्न, लाउनु पनि हुँदैन तर यसको उचित व्यवस्थापनको सख्त खाँचो परिरहेको छ ।
यौनका कारणले झैझगडा मात्रै होइन युद्धहरु नै हुने गरेको इतिहास छ । अहिले प्रेमजस्तो पवित्र विषयलाई यौनमा लगेर महमुछाइ मुछिएको छ । प्रत्येक दिनका समाचारमा यौन अपराधका घटना भएको सुन्न परिरहेको छ । किन यसो भइरहेको हो ? यसको मनोवैज्ञानिक खोज अनुसन्धान भएको छैन । विश्वका कतिपय देशमा यसलाई कसरी व्यवस्थापन गरिएको छ, खासै अध्ययन भएको पाइँदैन । यौन सम्बन्धी मर्यादा र कानुनको दाम्लो कसिएर घँटेसी लागेको हो वा दाम्लो खुकुलो भएर बुर्कुसी मारेका हुन् ? खोई अध्ययन अनुसन्धान ? यौन सम्बन्धी कानुन पुरुषको पक्षमा भयो महिला अन्यायमा परे भन्ने जनगुनासोलाई सम्बोधन गर्दा महिलाहरुबाटै कानुनको दुरुपयोग भएको मदमकदा सुनिन थालेको छ । एउटै कुरा मन परुञ्जेल यौन रोमान्स र मनपर्न छाडेपछि बलात्कार हुने गरेका बाक्ला–बाक्लै घटना हुने गरेको मिडियाहरुमा सुन्नु पर्न थालेको छ ।
जे होस् अहिलेको सामाजिक विसंगति, विकृति र अपराधिक मामलामा यौन पनि जोडिएको छ । यसको निकट सम्बन्ध रक्सी र पैसासँग पनि गाँसिएको छ । देशमा रक्सीको पूर्ण प्रतिबन्ध हुने हो भने यौन अपराधको डिग्री झरेर तलै फेदमै पुग्छ । तर, के गर्नु रक्सीको करले बाँचेको सरकारलाई त्यो कर आएन भने अनिकाल लागिहाल्ने होला ।
माथिका समाचारका शीर्षकहरुले संकेत गरेको अकोर् स्पष्ट कुरो हो, पैसा । आजको मान्छे पैसा प्राप्त हुने भयो भने जे पनि गर्न तयार हुन्छ । पाँच सय रुपैयाँ हातमा रखिदियो भने जहाँ भन्यो त्यही भोट (मत) हालेर आफैँलाई सस्तोमै बेचिदिन्छन् । पैसाको बोरा पुर्याउन सक्यो भने योग्यले भन्दा अयोग्यले सांसदको टिकट पाउँछ । अझै ठूला बोरा पुर्याए मलिला मन्त्रालय सुम्ठ्याउन पाउँछ । राजनीतिक नियुक्तिहरुमा पनि त्यस्तो त्यस्तै हालत छ ।
जो जहाँ छ उसले पैसाको निम्ति उचित अनुचित सबै काम गर्छ । सरकारी कार्यालयहरु त्यस्तै छन्, न्याय, निशाफ उस्तै छ । विकास निर्माणका कामहरु करोडौँको बजेटमा छुस्स काम हुन्छ त्यो पनि दिगो हुँदैन । काले काले मिलेर खाउँ भालेको सिद्धान्त लागू छ । जो जहाँ छ, जस्ले जति सक्छ निरीह सर्वसाधारणप्रति घोर अन्याय गदैर् देश दोहन गरिरहेका छन् । व्यापारका क्षेत्रमा पनि सम्बन्धित निकायमा दुई चार मुठा घाँस मिल्काइ दिएर जत्ति नै महँगी बृद्धि गर्दा पनि ठाँगेले छुँदैन । उचित अनुचितको ख्याल नगरी पैसा आउने भयो भने मान मर्यादा कानुनको दाम्लो चुँडाएर मान्छे निस्लोट भएर पैसामा लागेका छन् ।
लुटपाट गनेर् सरकारी स्वीकृति नै लिएर खोलिएका शिक्षा स्वास्थ्यका नाङ्ले पसलदेखि दोकान हुँदै सटरसम्म खोलेर बसेका सेठ, साहु, कैयाँहरुले जनता निचोरेको कस्को आँखाबाट लुकेको छिपेको छ र ! उनीहरुको सम्बन्ध जनतासँग होइन, माथिकै मान्छेहरुसँग छ । माथि थैली चढाउँन मञ्जुर गनेर् यिनीहरु तल जनताको सेवामा थोरै पनि छुट गर्न कहिल्यै तयार छैनन् । देश सेवा गरेको भनेर उनीहरु नै जेठ र भदौका गर्मीमा पनि दोसल्ला नाउँको धुस्सा र मजेत्रो ओड्दै शिक्षासेवा र स्वास्थ्यसेवामा टेवा पुर्याएको भन्दै भाषण डुक्रिन्छन् । बबुरा जनता निरीह बनेर तमासा हेर्छन् । यस्ता यस्ता यत्रा यत्रा पैसाको खेलो फड्को भइरहेको ठाउँमा बैंक ह्याकिङ गरेको, एटीएम फुटाएको, बिचौलिया दलाली गरेको, तस्करी गरेको, माफिया बनेको कुन नौलो र ठुलो कुरा भयो र ? पैसा आउने काम गर्छन् नि ! सबैले गरिराख्या छन् । तिनलाई पनि त्यो सब काम गनेर् सरकारी स्वीकृति दिए हुन्छ । अहिले जे छ रक्सी, यौन र पैसामै छ, अनि समाचारहरुमा यस किसिमको कुरा नआएर अरु के आउँछ त ? जहाँ यौन छाडा छ, रक्सीको सेवा चौबिसै घण्टा खुल्ला छ, पैसाको निम्ति जस्ले जेसुकै गर्न पाएको छ, पैसाले अपराधलाई टाल्न टार्न पाइन्छ अनि अखबारमा राम्रा कुराको आश गरेर हुन्छ ? पत्रिकाले त जे छ त्यही लेख्छन् नि । जुन देशका नेता जुट्न भन्दा फुट्नमा, सेवा गर्न भन्दा लुट्नमा उद्धत छन् । त्यो देशमा पत्रिकाको समाचारका शीर्षक यस्तै हुन्छन्, भइरहन्छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



