
तित्रा
‘हैन एइ केटा ! दशैंं आयो भन्छन् के छ बन्दोबस्ती ? यो दशैंं भनेको त नहुनेले पनि खोजीखाने बेला होइन र ? मीठो खाने, राम्रो लाउने, ठूलाबडाकहाँ कोसेली लिएर गएर आशीर्वाद थाप्ने, नवदुर्गाको पूजाआजा गनेर्, आराधना गनेर्, स्तुति गनेर् होइन र भन्या ? चुनाव आउन लाग्दा पार्टी कार्यकर्ताको फूर्तिफार्ती जस्तै दशैंं आउन लाग्दा हामीले पनि जरकमरक गनेर् बेला भएन ? किन निच मारेर चूपचाप बस्छस् हँ…’ भन्दै माइलाबा आइपुगे ।
राजनीति धूर्त छट्टु बेइमानहरूको पेवा भए झैं यो दशैंं पनि हुनेखाने धनी पैसावालाकै पेवा बन्यो । उनीहरू नै दशैंं मनाउन्, मोमज्जा गरुन्, त्यही रमिता हेरेर बसौंला नि ! तपाईं त चार हजार वृद्धभत्ता थाप्नु हुन्छ, कर्मचारीलाई दशैंं खर्च भनेर एक महिनाको तलब दिए झैं एक महिनाको भत्ता दशैं खर्च भनेर आउँछ होला । आफू त न वृद्धमा परियो, न दलितमा, न कर्मचारीमा । चार पैसो कतैबाट आउँदैन । साहू–महाजनले पत्याएछन् भने एक छाक मीठो–मसिनो खाउँला, खुवाउँला, चित्त बुझाउँला… भन्दिएको बुढो छक्क परे ।
‘कस्तो निराशजनक लोधर कुरा गर्छस् हउ केटा ! अनेक किसिमका कोरोनाका भेरियन्ट आइरहेका छन्, कुन बेला इहलोक परित्याग गर्नु पनेर् हो– कुनै ठेगान छैन । साहू–महाजनले ढुँडी पारेर राखेका पैसाको के काम छ ? माग्ने हो ल्याउने हो, खाने हो । सके तिरौंला, नसके छिरौंला । घरबारी लैजाला भन्ने छैन । डेरा गरेर बस्नेको भए पो लैजावस् । हुनेसम्म प्रयत्न त गर्नु पर्छ नि ! यो दशैंंमा नेताहरूले देश बनाए झैँ गाउँलेहरूले खसी सुँगुर राँगो बनाउलान् । त्यही गएर दुई–चार केजी गोसको बन्दोबस्त गर्नु पर्छ । पूजाआजाको कुरो नवदुर्गाको एउटा तस्वीर ल्याएर फूल चढाउँदा भइगो । ठूलाबडाकोमा आशीर्वाद थाप्न जाने कुरो पनि म नब्बे वर्ष पुग्न दुई वर्ष मात्रै बाँकी छ, मभन्दा ठूलो को होला र आशीर्वाद माग्नु ? तलाई आशीर्वाद दिने मै हुँ त । आउनु, सिस्यारमा अलिकति कन्सेशन गर्दिउला, मेरो तर्फको सहयोग त्यही भयो ।’
मैले भनें– माइलाबा दशैंंको मुख्य तनाव भनेको दक्षिणाको वितरण हो । अहिले पैसाको कुनै मूल्य छैन । एक सय दक्षिणा दिंदा साना केटाकेटीले पनि मुख बिगार्छन् । सय रुपैयाँ पैसा तिनलाई आँखै लाग्दैन । हुन पनि एकपटक चट्पटे र पानीपुरी खान पनि पुग्दैन । आफूसँग त्यही मूल्य नभएको कागजको खोस्टे पैसो पनि छैन । बीस–पचास दक्षिणा दियो भने त भिखारीकै दररेट भयो भन्छन् । म चाहिँ पचासको नोट पनि भित्र अविन्तरकै गोजीमा राख्छु । टाढाबाट आएका ज्वाइँ चेला, चेलीबेटीको त झन् कुरै नगरौ । दुई हजार पच्चीस सयको सिस्यार बोकेर आउँछन् अनि परेन फसाद ! यसको चाहिँ के उपाय होला, माइलाबा ?– भनेर मैले सोधेँ ।
बुढाले भने– ‘हेर केटा ! दक्षिणाको कुनै दररेट हुदैन । जति दिन सकिन्छ, त्यति दिने हो । त्यो पनि खाममा हालेर । खामको आविष्कार र कट्टुको आविष्कार कुन पहिले भएको हो– त्यो त मलाई थाहा छैन । तर, यी दुबैको काम एउटै हो; इज्जत आब्रुक ढाक्ने छोप्ने काम यी दुबैले गर्छन् । दश रुपैयाँको खाममा पाँच रुपैयाँ दक्षिणा राखेर दिए पनि केही फरक पदैर्न । अब रह्यो, थोरै दक्षिणा दिँदा मान्छेले के भन्लान् भन्ने कुरो । त्यसको टाउको दुखाइ दक्षिणा दिनेको होइन, पाउनेको हो । पैसा बटुल्ने हिसाबले आएको रहेछ भने अकोर् सालदेखि आउँदैन, टण्टै खलास; आशीर्वाद लिन आएको भए ठीकै छ । आफूसँग पैसो नभएपछि कसले के भन्ला भनेर थाम्छ ? फलानोले थोरै दक्षिणा दियो भन्दै हिँड्यो भने ऊ आफैं पखालिन्छ ।’
अनि नि माइलाबा ! घुस खाएर, कमिशन खाएर, अनेक किसिमले ठगेर लुटेर भ्रष्टाचार गरेर अरबौं अरब पैसा देश–विदेशका बैंकमा थुपारेर अरब÷खरबपतिले आफ्नो प्रिय मान्छेलाई दक्षिणा दिँदा कतिसम्म दिएको तपाईंलाई थाहा छ ? तपाईं हामीसँग त पैसा छैन, कुरै भएन । तिनले कति दक्षिणा दिन्छन् भनेर अनेकै सोचविचार गर्दा, अडकल अन्दाज अनुमान गर्दा पनि मैले पत्तो लाउन सकिन । पक्कै पनि तिनको दक्षिणा खाममा त अटाउँदैन होला । झोलामा, बोरामा हालेर दिन्छन् कि ? बिहेको अघिल्लै दिन बेहुलीका बाबुले खाट, दराज हाँडा चिण्डा बेहुलाका घरमा पुर्याइ दिए झैँ भ्रष्टहरूले भरिया लगाएर दक्षिणाको बोरा दशैंंभन्दा अगाडि नै पुर्याउँछन् कि ? यो कुरो मलाई सारै कौतुहल लागेको छ ।
बुढा थोते दाँत देखाएर खिस्स हाँसे अनि भने– ‘तँ चाहिँ सारै लाटो भइस होउ केटा ! जमाना कहाँबाट कहाँ पुगिसक्यो । जिल्लामा बसेका बाबुले राजधानीमा बसेका छोरी–ज्वाइँ, नाति–नातिनालाई दाल चामल आलुका बोरा, घ्यूका टिन, सिन्की गुन्दु्रक मस्यौरा सिद्रा……आदिका पोकापत्यौरा गाडीमा हाल्दिए झैं दक्षिणाको पैसाको बोरा कहाँ हाल्छन् त ? कति दक्षिणा दिने हो, ज्वाइँ–छोरीको नाउँमा चेक काटेर, त्यो चेक खाममा हालेर दिंदा भइगो नि ! बोरामा नअँटाउने पैसो चेकमै आँटिहाल्छ । अझ ती दक्षिणा दिनु पनेर् मान्छेको बैंक खाता नम्बर थाहा भए आफ्नै मोबाइलबाट छ–सात वटा अंक थिचेर सेन्ट गर्दियो भने पैसो फिलिस्सै जान्छ । खाता नम्बरमा पैसा पठाएर खाममा भौचर दिए पनि भयो । जमाना अनुसार चङ्ख बन्न सकिनस् होउ केटा तँ । लुटेर कमाएको पगितो धन जताततै घरभिटा हुने चोरतन्त्रका लाउके नाइकेहरूले आफ्नो मान्छेलाई दक्षिणा दिंदा जिन्सीमा दिन मन लागे घरजग्गा पास गरेर धनीपूर्जा खाममा हालेर दिए भयो । नहुनु पो सारो त, भएको दिनलाई के छ र ! कसले कसलाई कतिसम्म दक्षिणा दिएर गिनिज बूकमै नाउँ लेखायो, त्यो कुरो चाहिँ थाहा छैन होउ केटा ! न बन्द खामभित्र देख्न सकिन्छ, न मान्छेको मनभित्र छिर्न सकिन्छ । न बैंकले एउटाको कारोबार अकोर्लाई भन्दिन्छ । अनि कसरी जान्नु ?’
अनि होउ माइलाबा ! मैले नबुझेको अकोर् एउटा कुरो पनि भन्दिनु त । यो दशैंंमा हामी गरीबगुरुवा हुँदा खानेहरू ऋणपान गरेर एकै छाक भए पनि मीठो मसिनो खाएर, नाङ्गो आङमा नयाँ कपडा लगाएर रमाउँछौं । लिङ्गे पिङ, रोटे पिङ खेलेर मनोरञ्जन गछौर्ं । बाबु–आमा तथा ठूलाबडाले दिएको आशीर्वाद लाग्छ भनेर भर पछौर्ं । नवदुर्गाले पाापीहरूको सर्वनाश गर्छिन् भनेर पत्याउँछौं । तर, सधैँभरि मीठो मसिनो खाने, राम्रो लाउने सम्झिसक्ता जे पनि जुनसुकै बेला उपलब्ध हुने खालका लुटेर धनीमनी बनेका, भ्रष्टाचार गरेर ठूलो मान्छे भएका, चोरेर ठगेर देश दुनियाँलाई खुर्किएर पैसावाला भएका मान्छे दशैंंमा कसरी रमाउँछन् ? यी अपराधीहरूलाई अलिकति पापबोध हुँदैन ?
बुढाले लामो सास फेरेर भन्न थाले– ‘हेर केटा, अहिले पाप धर्म भन्ने कुरा हराएजस्तो छ । अपराधीलाई कानूनले हेर्छ भन्छन्, त्यो झन् अपराधी छ । एनसेलले करोडौं करोड राज्यलाई तिर्नु पनेर् करको रकम बारेमा हाम्रो न्याय निशाफ कानूनले ‘तिर्नु नपनेर्’ भनेर फैसला गर्छ । त्यो झन् कति अपराधी होला ? निरीह नागरिक तुइनमा झुण्डिएर मर्छन्, सिटामोल खान नपाएर मर्छन्; राज्यको पैसा अपराधीहरू मिलेर खान्छन् । एनसेल एउटा उदाहरण मात्रै हो । सुनलाई क्षणभरमै पित्तल प्रमाणित गनेर् नेता, कर्मचारी र प्रहरी छन् । पापले मान्छे मानेर् भए छानी–छानी यिनीहरूलाई अहिलेसम्ममा कोरोनाले बढारिसक्थ्यो । तर, ती त झन ठम–ठम छन् । त्यसकारण पाप धर्म छैन । यिनलाई सारा नागरिक मिलेर सामाजिक बहिष्कार गदैर् ढुङ्गाले गोहोर्याएर इहलोक कटाए मात्रै हो, अकोर् उपाय छैन । शासन तिनकै, सत्ता तिनकै, न्याय निशाफ तिनकै छ; दिउँसै लूटपाटमा जुटेका छन् । करोडौंको भ्रष्टाचार गनेर्हरूलाई दुई–चार हजारमा जेलबाट छुटाइरहेका छन् । पापको घडा भरिनै आँटेको छ, घडा फुट्नै आँटेको छ; अब थोरै धैर्य गर्नु पर्छ ।…’
‘…अब यिनीहरू दशैंंमा के खाएर लाएर रमाउँछन् भन्ने कुरा चाहिँ यी तामासीहरू हुन् । वषैर्भरि यिनलाई दशैंं नै दशैंं छ । देश–विदेशका रक्सी खान्छन्, मासु लुछ्छन्, मनोरञ्जनमा जुवा तास खेल्छन्, ठाउँ–ठाउँमा राखेका रखैलहरूकहाँ धाउँछन् । सर्वसाधारण नागरिक चाडवाड मनाउन लागेका बेलामा लूटपाटकै दाउ हेरेर बसेका हुन्छन् । धर्म संस्कार संस्कृति भाषा भेषभूषा बेच्छन्, पैसाले सिराने अग्ल्याउँछन् । यिनीहरूको बाह्रमासे धन्धा नै यही हो । दशैंंमा आशीर्वाद थाप्न मान्यजन आफन्तकहाँ होइन, दूतावास जान्छन् र विदेशी चोर, छट्टु, स्यालहरूलाई देउता मान्छन् । यिनका कुरो गरिसाध्य छ ?…’
‘…राष्ट्रिय विभूषण मानसम्मान पनि आफू आफैँ थाप्छन् । यिनीहरू अब बहुलाउन मात्रै बाँकी छ । आत्महत्या गर्छु भनेर भाषण भुक्न थालेका छन् । आत्महत्या गनेर्ले कतै अरूलाई भन्दै हिँड्छ ? रुँदै भाषण गनेर् नाटकको अभ्यास गर्न थालेका छन् । सत्र हजारले पुगेन, अब सैतीस हजार बनाउँछु भनेर बर्बराउन थालेका छन् । यिनीहरूलाई त्यो सत्र हजार पनि पैसै जस्तो लागेर बढाउन खोजेका हुन् कि ? यो पनि विदेशी बैंकमै लगेर थन्क्याउने विचार छ कि ?’
मैले भनें– होइन होउ माइलाबा ! तपाईं त दशैंंको कुरा गर्दागदैर् कता–कता कहाँ–कहाँको रिस, आक्रोश, आवेग पो ओकल्न थाल्नुभयो त !
‘छोड्दे केटा ! गरीबगुरुवाको के दशैंं हुन्छ ? जे छ, त्यसैमा रमाउनु पर्छ । तलाई सुटुक्क भनेको– घरमा एउटा भाले छ । नेता र कर्मचारी मिलेर ललिता निवास बनाए झैं काका–भतिज मिलेर त्यो भाले बनाउँला खाउँला । फिला ह्याकुला भएको मन्त्रालयको खोसाखोस टोकाटोक गरेर र परको नौलो देउतालाई पनि एक भाग लाउनु पनेर् भएकाले मन्त्रिमण्डल बन्न नसके झैँ तैले पनि फिलो ह्याकुलोमा झगडा गरिस् भने भाले भेट्दैनस् नि ! ऐठनपानी तँलाई चल्दैन, म आफ्नो जोहो जसो गरौंला ! दशैंंको ट्यानसन सारै लिनु पदैर्न…’ भन्दै बुढा उठेर आफ्नो बाटो लागे ।


