
झापा, २३ पुस । मेची–महाकाली विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्ड अन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले त्यस्तो निर्णय गरेको हो ।
प्रजिअ तिमिल्सिनाले प्रशासन कार्यालयका तर्फबाट हालसम्म भएको पहल र प्रगति बारे जानकारी गराएका थिए । रेल्वेका लागि नक्सांकन भएका झापाका ६ वटै पालिकाको वडास्तरसम्म पुगेर रेल्वे प्रभावित क्षेत्रको लगत सङ्कलन कार्य सम्पन्न भएको र यसबारेमा केही प्रमाणीकरण गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गर्ने निर्णय भएको छ ।
त्यस्तै रेल्वे अन्तर्गत मोरङ र सुनसरीमा डिमार्केसनको काम भइरहेकोमा अब एक महिनाभित्र झापामा डिमार्केसन गरी पिलर गाड्ने कार्य सम्पन्न गर्ने निर्णय भएको छ । अब एक सातामा डिमार्केसन गरी पिलर गाड्ने कार्य सुरु गरिने रेल योजना कार्यालयले जनाएको छ । डिमार्केसन सकिए लगत्तै रेल्वेमा नपर्ने जग्गाको रोक्का फुकुवा गर्ने बैठकले निर्णय गरेको छ ।
त्यसै गरी रेल्वे क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारण तत्काल गर्न सक्ने गरी तयारी हालतमा रहने निर्णय भएको छ ।
झापाको हकमा प्रचलित दररेट अनुसार मुआब्जा निर्धारणको काम लगभग सकिएको बुझिएको छ । तर, मुआब्जा निर्धारण गर्न स्रोत सुनिश्चितता गर्नुपर्न भएकाले उक्त कार्यको लागि रेल आयोजना कार्यालय, राजनीतिक दल लगायत सरोकारवाला निकायहरूले सक्रिय रुपमा पहल गर्ने निर्णय भएको छ । स्रोत सुनिश्चित गर्न दलहरूले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । हाल रेल योजना कार्यालय अन्तर्गत प्रदेश १मा मुआब्जा वितरणका लागि एक अर्ब ६६ करोड रुपैयाँ मात्र रहेको तर, मुआब्जाका लागि करिब २५ अर्ब आवश्यक पर्ने बताइँदै आएको छ ।
आवश्यक स्रोत सुनिश्चितताका लागि रेल योजना कार्यालयको समन्वयमा झापा, मोरङ र सुनसरीका राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिहरू प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजना मन्त्री समक्ष माघ दोस्रो साता भित्र डेलिगेसन जाने विषयमा समेत बैठकमा छलफल भएको छ ।
बैठकमा राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति देउमान थेबे, नेकपा एमालेका प्रतिनिधि यमबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय साम्पाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेनवाला राई, केन्द्रीय सदस्य देउकुमार नेम्वाङ, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपाका जिल्ला सहसचिव अभिषेक ढुुंगानाले रेल्वेको मुआब्जा लगायतका समस्या तत्काल समाधान हुनुपर्नेमा जोड दिँदै त्यसका लागि राजनीतिक दलातर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा रेल योजना कार्यालय दमकका योजना प्रमुख इन्जिनियर प्रकाशचन्द्र भण्डारी र इन्जिनियर बोधप्रसाद भण्डारीले प्राविधिक कामको अहिलेसम्मको प्रगति बारे जानकारी गराएका थिए ।
रेल्वे प्रभावित मुआब्जा समन्वय समितिका अध्यक्ष डा। लक्ष्मीप्रसाद मैनाली र महासचिव रञ्जित प्रसाईँले प्रभावितहरूका तर्फबाट विभिन्न विषयमा कुरा राखेका थिए । बैठकको संयोजन संवाद समूहले गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमर जङ्ग थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे, राष्ट्रिय अनुसन्धान झापाका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईँ, प्रमुख मालपोत अधिकृत योगेन्द्र्रप्रसाद दुलाल, प्रमुख नापी अधिकृत दुर्गादास महर्जनको समेत बैठकमा सहभागिता थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


