
झापा, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या ३ सय ४४ पुगेको छ। आज अनुपम फुडल्यान्डमा जारी बैठकले ९७ जना थप गरेपछि केन्द्रीय सदस्यले पूर्णता पाएको हो।
माओवादी केन्द्रको पुस ११ देखि १८ सम्म भएको आठौं राष्ट्रिय महाधिवेशनले २ सय ४७ केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । महाधिवेशनपछि तेस्रो पटक बसेको केन्द्रीय समिति बैठकले १५ प्रतिशत मनोनित सहित ९७ जना सदस्य थप गरेको हो ।
थप गरिएका केन्द्रीय सदस्यहरुमा खुल्लातर्फबाट ४२ र समानुपातिकबाट ४५ जना छन्। सबैको नाम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पढेर सुनाएका हुन्।
प्रचण्डले केन्द्रीय सदस्य संख्या चयन गर्न निकै सकस परेको बताएका छन्। विधानअनुसार समानुपातिक, समावेशी क्लस्टर मिलाउनुपर्दा निकै सकस भएको उनले बताए।
तेस्रो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘केन्द्रीय समिति चयन निकै जटिल भयो। सिनियर छुट्ने, जुनियर आउने कुराले गाह्रो भयो।’



