
झापा, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की केन्द्रीय सदस्य धर्मशीला चापागाईले माओवादीले मात्र महिलालाई एकताबद्ध गरेर उनीहरुका समस्याको समाधान खोज्न सक्ने बताएकी छन् ।
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाले आज बिर्तामोडमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उनले त्यस्तो बताएकी हुन् । उनले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै स्थानीयतहमा अनेमसंघका महिलाको सहभागीता हुन पर्नेमा जोड दिइन् ।
त्यस्तै, कार्यक्रममा संविधानसभा सदस्य तथा महिला नेतृ सुशीला कन्दङ्वाले आगामी स्थानीय तहको निर्वाचनमा झापाका १५ वटै स्थानीयतहमा महिलाहरुलाई सहभागी गराउने चुनौती रहेको बताइन् ।
कार्यक्रममा पार्टीका प्रदेश नं. १ उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय) ले माओवादी पार्टीले न्यायको पक्षमा सम्पूर्ण महिलाहरुलाई साथ दिने बताए । आगामी निर्वाचनमा महिलाको सहभागीता वडादेखि पालिकासम्म रहनु पर्ने उनले बताए ।
पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) ले महिलालाई प्रत्येक क्षेत्रमा सहभागी गराउन सके मात्र उनीहरुको अधिकार प्राप्त हुने बताए । उनले महिलाहरुमा हुने विभेद अन्त्यका लागि महिलाहरुको एकता जरुरी गरेको धारणा ब्यक्त गरे ।

कार्यक्रममा निरुता चापागाईले ‘महिला दिवस’ शीर्षकमा कविता समेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा वाइसिएल केन्द्रीय सदस्य अन्सु पराजुली, अखिल (क्रान्तिकारी) प्रदेश नं. १ उपाध्यक्ष मनिषा आचार्य, बुद्धिजिबी संगठनकी प्रदेश संयोजक राधिका ओझालगायतले महिला हिंसा र समाधानका विषयमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
अनेमसंघ (क्रान्तिकारी) झापाकी अध्यक्ष बन्दना झागरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अनेमसंघ (क्रान्तिकारी) झापा उपाध्यक्ष भुमिका कोइरा, कार्यक्रममा औचित्यमाथि प्रकाश अनेमसंघ (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य निरु खतिवडाले पारेकी थिइन् ।
कार्यक्रमको सञ्चालन झापा सचिव इन्दिरा कार्कीले गरेकी थिइन् । प्रशिक्षण कार्यक्रममा जिल्लाभरका २ सय ५० बढि महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पार्टीका प्रदेश कोषाध्यक्ष गगन पुरी, प्रदेश सदस्य बोधराज दाहाल (असिम), खड्ग तिम्सिना (पवन), मिरा सञ्जेल, देवकला प्रसाई, झापा सचिव मोहन टुडु, बिर्तामोड इन्चार्ज युवराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।



