
भद्रपुर, ३१ साउन । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि गठित समितिले अस्पतालको व्यवस्थापन समिति, प्रशासन र चिकित्सक तथा कर्मचारीसँग छलफल गरेको छ ।
मेची अस्पतालको सेवा राम्रो बनाउने उद्देश्यले मेची प्रादेशिक अस्पताल सुधार समितिले उनीहरुसँग छलफल गरेको सुधार समितिका प्रवक्ता राजेश गुप्ताले जानकारी दिनुभयो ।
सुधार समितिका अध्यक्ष दीपक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका कमजोरी र समस्याका बारेमा गम्भीर छलफल गरिएको थियो । स्तरीय सरकारी अस्पतला बनाउन सबै पक्षको सहभागिता अनिवार्य भएकाले अस्पताल व्यवस्थान समिति, प्रशासन र चिकित्सक–कर्मचारीहरुसँग छफलफ गरिएको समितिका अध्यक्ष तिम्सनाले बताउनुभयो ।
छलफलमा अस्पताल व्यवस्थान समिति, प्रशासन र चिकित्सक–कर्मचारीहरुले अस्पतालका विद्यमान समस्याबारे जानकारी दिएका थिए । अस्पतालमा १०३ जनाको दरबन्दी भए पनि ४५ जना मात्र रहेको, सेवाग्राहीको चाप बढ्दै गएको र दक्ष जनशक्ति अभाव मुख्य समस्याको रुपमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट टंक बाराकोटीले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विश्व बरालले अस्ताललाई स्तरीय सेवा दिने बनाउन सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको र आफू अस्पताल सुधारको पक्षमा रहेको बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता डिल्ली घिमिरे (हिक्मत), वरिष्ठ डाक्टर जयकुमार ठाकुर, डा. रामबाबु खड्का, डा. मनिष सुवेदी, विभिन्न विभागीय इञ्चार्ज, नर्स तथा कर्मचारीहरुले आआफ्ना धारणा राख्नुभएको थियो ।
छलफलपछि सुधार समितिले अस्पतालका समस्या समधानका लागि अस्पतालको टोलीसँगै उपल्लो निकायमा पहल गर्ने भएको छ । अस्पताल सुधारका लागि समिति बुझाएको ३६ बुँदे मागमध्ये केही माग पूरा भएका छन् भने कही पूरा हुने क्रममा रहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



