
सन्तोष शर्मा
झापा, १ भदौ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल विगत साढेचार दशकदेखि जनशक्ति अभाव झेलिरहेको छ ।
विसं. २०३३ सालमा १०३ जनाको चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी रहेकामा हालसम्म ४५ जनाले सेवा दिइरहेका छन् । सो बेला अस्पताल ५० बेडको थियो भने हाल १३४ बेड छन् ।
अस्पतालमा विभिन्न कार्यक्रम बढेसँगै बेड पनि बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट टंक बाराकोटीले बताउनुभयो । “५० बेडको हुँदा आइसीयू, एचडीयू, पोषण सेवा थिएन”, उहाँले भन्नुभयो, “सेवा विस्तारसँगै डेब बढेको छ, तर जनशक्ति बढेको छैन ।” अस्पतालको मुख्य समस्याको रुपमा दक्ष जनशक्ति अभाव रहेको उहाँले बताउनुभयो ।
अस्पतालमा छात्रवृत्ति, करार र अन्य गरी २८ जना चिकित्सकले सेवा दिइरहेका छन् । निश्चित समयका लागि आउने र जाने भएकाले उनीहरुको गणना नहुने मेसु बाराकोटीले बताउनुभयो । अस्पतालमा अहिले ५६ प्रतिशत दरबन्दी रिक्त छ । “दरबन्दीका लागि पटक–पटक प्रयास गरे पनि सफल भएको छैन”, उहाँले भन्नुभयो ।
मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ । अस्पतालमा दैनिक औषत आठ सय जनाले बहिरङ्ग सेवा (ओपीटी) लिँदै आएका छन् ।
एउटा जना डाक्टरले दैनिक ४० देखि ४५ जना बिरामीलाई हेर्नुपर्ने बाध्यता छ । समय अभाव र बिरामीको चापले समस्या काम गर्न धेरै समस्या हुने गरेको अस्पतालका डाक्टरहरुको भनाइ छ । त्यस्तै, एउटा स्टाफ नर्सले २६ वटासम्म बेड जना भ्याउनुपर्ने अवस्था छ ।
अपस्तालमा एक जना रेडियोलोजिष्टको दरबन्दी छ । दैनिक ३० देखि ४० जनाको भिडियो एक्स–रे गर्ने सीमा भए पनि ७० देखि ८० जनासम्मलाई सेवा दिनुपर्ने अवस्था छ । त्यस्तै, ल्याब एक जना मात्र प्याथोलोजिस्ट हुँदा ल्याब सेवा समेत चुस्तदुरुस्त हुन सकेको छैन ।
विसं. २०३३ सालको हिसाबले दरबन्दी ठीक भए पनि अहिले स्तरीय सेवा दिने अवस्था नरहेको मेची अस्पताल सुधार समितिका फोकल पर्सन राजेश गुप्ताले बताउनुभयो । “अस्पतालको सेवा सुधारका लागि हामीले पहल गरिरहेका छौं”, उहाँले भन्नुभयो, “अस्पतालमा धेरै विकृति र विसंगती भए पनि दक्ष जनशक्ति अभाव टड्कारो रुपमा देखिएको छ ।”
अस्तापललाई स्तरीय बनाउन लागि परे पनि दक्ष जनशक्ति, बजेट अभाव लगायतका समस्या विद्यामान अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विश्व बरालले रहेको बताउनुभयो । आन्तरिक कमजोरी सुधारसँगै सबैको साथ र सहयोग जरुरी रहेको उहाँको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



