
झापा, १४ साउन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै आउने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किराँतीले भूपरिवेष्ठित राष्ट्रको समृद्धिमा जहाजको विकास महत्वपूर्ण हुने भएकाले नयाँ र पुराना गरी पाँच वटा जहाज आउने बताउनुभयो ।
“हाम्रोजस्तो भूपरिवेष्ठिट मुलुकको समृद्धिका लागि जहाज महत्वपूर्ण हुँदोरहेछ”, उहाँले भन्नुभयो, “तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरीद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिशन आउँदैन ।” नेपाली जहाजकै कनेक्सन फ्लाइटबाट नेपाली उत्पादनहरु विदेश निर्यात गरेर समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।
मन्त्रालय सम्हालेपछि भ्रष्टाचारका प्वालहरु टाल्ने काम गरिरहेको उहाँको भनाइ छ । चार अर्ब ऋण तिरेर नयाँ जहाज किन्न सक्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । “मुलुकको ठूलो समस्या भ्रष्टाचार हो, यसको अन्त्य जरुरी छ”, उहाँले भन्नुभयो, “धेरैले स्टन्ट गर्यो भनेर कुरा गर्छन्, म स्टन्ट होइन, काम गर्ने मान्छे हुँ, मलाई आलोचना गर्ने फुर्सद छैन ।”
मन्त्री किरातीले पर्यटन सम्बन्धी राष्ट्रिय नीति बनाउन सरकार लागि परेको समेत बताउनुभयो ।
मन्त्री किरातीले नेपालको एयरपोर्टबाट हात्ती पनि छिर्छ भन्ने सुनेको हस्यौली गर्दै भन्नुभयो, “हात्ती त होइन, सुन छिरेको देखियो, यसले मुलुकको बदनाम बनाएको छ, भरिया होइन, मालिक समाउनु पर्छ ।” नेपाली एयरपोर्ट सुरक्षित बनाउन कडाइँका साथ लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कोशी प्रदेश सरकार गठनमा देखिएको समस्या प्रति लक्षित गर्दै मन्त्री किराँतीले प्रदेश सरकार गठन सबै दलको सहमतिका आधारमा हुनुपर्नेमा जोड दिनुभयो । “मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेकाले संघ र प्रदेश सरकार सहमतिकै आधारमा बन्नुपर्छ”, उहाँले भन्नुभयो, “कोही प्रतिपक्ष नभई समग्र मुलुकको विकासमा सबै दल एकजुट हुुनुपर्छ ।”
प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव पुष्प खड्काले गर्नुभएको थियो भने नेकपा (माओवादी केन्द्र) का पार्टीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



