
बिर्तामोड २२ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्माले पार्टीका कार्यकर्तामा उत्पन्न निराशाको अन्त्य गरेर उत्साह भर्न विशेष आन्तरिक अभियान सार्थक हुने विश्वास ब्यक्त गर्नुभएको छ ।
अभियानका लागि केन्द्रबाट झापाका लागि खटिनुभएका प्रतिनिधि विश्वकर्माले पार्टीको आन्तरिक संगठन जागरुक बनाउन, विकास निर्माणमा कार्यकर्ता परिचालन गर्न, पार्टीप्रतिको अनर्गल प्रचार रोक्न एवं पार्टी सुद्धिकरण र सुदृढीकरणका लागि अभियान फलदायी हुने बताउनुभएको हो ।
नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला कार्य समिति, क्षेत्रीय सभापति र सचिव, प्रदेश क्षेत्रीय सभापति एवं गाउँ–नगर सभापतिहरुको संयुक्त भेलालाई अभियानबारे जानकारी दिनुहुँदै नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागका संयोजक समेत रहनुभएका नेता वि।कले नियमानुसार खेल नखेल्दा खेलाडीहरुले गेम हार्ने दृष्टान्त प्रस्तुत गर्दै विधान बमोजिम क्रियाशीलदेखि उपल्लो तहसम्मका कार्यकर्ताले आ–आफ्नो जिम्मेवारी पूरा नगर्दा संगठन परिचालन र पार्टी सुदृढीकरणमा समस्या आउने बताउनुभएको हो । सबैको हातेमालो र भाइचारा सम्बन्धले मात्रै पार्टी मजबुद हुने उहाँको भनाई थियो ।
साउन २० गतेदेखि ३० गतेसम्म देशभर सञ्चालन हुने विशेष आन्तरिक अभियान अन्तर्गत पार्टीका सबै तहका संगठनहरुलाई पूर्णता दिन र विधान बमोजिमका विभागीय समितिहरु गठन गरिसक्न उहाँले तहगत समितिहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीको वडा सम्मेलन अन्तिम चरणमा पुगेको, साउन मसान्तसम्म गाउँ–नगर सम्मेलन तय भइसकेको, भदौ १० गतेसम्म प्रदेशसभा सम्मेलन र २१ गतेसम्ममा क्षेत्रीय सम्मेलन सकेर दशैंअघि नै जिल्लासम्मेलन सम्पन्न गर्ने कार्यतालिका रहेको जानकारी गराउनुभयो ।
विशेष अभियान अन्तर्गत झापाका दशवटा प्रदेशसभा क्षेत्र र पाँचवटा क्षेत्रमा साउन २४ गतेदेखि २८ गतेसम्मको कार्यक्रम तालिका पनि सभापति थेवेले प्रस्तुत गर्नुभयो । भेलामा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य उत्तम चम्लागाईले पार्टी संगठन सुदृढीकरणका लागि दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न भेलाको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो भने नारायण पौडेल, देवी घिमिरे लगायत जिल्ला सदस्यहरुले सुझाव प्रस्तुत गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



