
फिदिम, २६ साउन । पाँचथरमा बाढी र पहिरोका कारण विस्तापित भएका परिवारलाई नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न राहत वितरण गरेको छ ।
‘विपत्तिको घर युवा संघको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल झापा शाखाको सहजीकरण र झापाकै स्थानीय पालिकाको सहयोगमा १ सय २४ बोरा चामल पीडित परिवारलाई वितरण गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक फुर्बा लामा नेतृत्वको प्रतिनिधिमण्डल राहतका सामग्री बोकेरै बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेका थिए । पाँचथरका विभिन्न स्थानमा उनीहरुले राहतका सामग्री प्रदान गरेको राष्ट्रिय युवा सङ्घ नेपाल झापा शाखाले जनाएको छ ।
याङवरक गाउँपालिका वडा नं १ र २ का १०६ घरका परिवारलाई राष्ट्रिय युवा संघले उनीहरूको अस्थायी वासस्थलमै पुगेर प्रतिपरिवार एक बोरा चामल प्रदान गरेको राष्ट्रिय युवा सङ्घ नेपालका झापा संयोजक लामाले बताए । उनका अनुसार गएको असार २ गते हेवा खोलामा आएको बाढीले बगाएर र पहिरो झरेर ठाउँको १०६ घरका परिवार पूर्णरुपमा विस्थापित भएका थिए ।
राहात वितरण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सागर पोर्तेल, खगेन्द्रराज आन्दम्बे, कोशी प्रदेश सदस्य रघु धिमाल, जिल्ला सदस्य मेरुन योङ्गहाङ्ग, सरोज मेहेरा, सुरेन राइ लगायत पाँचथर जिल्ला कमिटीको सहभागिता थियो । पाँचथरमा असार २ गतेको बाडी र पहिरोले सबै भन्दा धेरै क्षति पु¥याएको स्थानमा राहत वितरण गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सचिव अनिता कन्दङवाले बताइन् ।
तत्कालको लागि पीडितलाई खानामा समस्या नहोस् भन्नका लागि राहत उपलब्ध गराएको उनले जानकारी दिएकी छन्। पहिरो तथा बाढी प्रभावित क्षेत्रमा स्वच्छ पिउने पानीको सबै भन्दा ठूलो समस्या रहेको राष्ट्रिय युवा संघ नेपाल झापाका संयोजक लामाले जानकारी दिए ।
पार्टीका नेता कार्यकर्ता र झापाका केही राइसमिलहरूले स्वेच्छाले दिइएको नगद तथा जिन्सी संकलन गरेर पीडितलाई राहत उपलब्ध गराएको राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



