
बिर्तामोड, २९ साउन । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख मीन बिश्वकर्माले पार्टीका विरुद्ध नकारात्मक प्रचार–प्रसार गर्नेहरुको अभिलेख राख्न तहगत समितिहरुलाइ निर्देशन दिनुभएको छ ।
आन्तरिक विशेष अभियान २०८० अन्तरगत झापा जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै नेता झापाका लागि केन्द्रीय प्रतिनिधि समेत रहनुभएका बिकले यस्तो निर्देशन दिनुभएको हो । ‘घोषणा गरेर पार्टी छोड्दा केही असर पुग्दैन’, नेता बिकले भन्नुभयो, ‘पार्टीभित्रै बसेर कुप्रचार गर्ने एवम् अन्य शक्तिलाई सहयोग गर्नाले पार्टी खतरामा पर्छ।’
कार्यक्रममा कोशी प्रदेश समितिका सदस्य उत्तम चम्लागाईले भदौबाट समूदायमा कांग्रेस अभियान सञ्चालन हुने धारणा राख्नुभयो । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै साउन २२ गतेदेखि २९ गतेसम्म निरन्तर कार्यक्रम गर्दा नेता–कार्यकर्तामा देखिएको उत्साह र सहभागिताप्रति आभार ब्यक्त गर्नुभयो । पार्टीका उपसभापति शेरबहादुर भट्टरार्इले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन उपसभापति केशवराज पाण्डेले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



