
झापा, १ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान प्रदत्त अधिकार हरेक नागरिकले उपयोग गर्न पाउने ग्यारेन्टीका लागि आफू प्रयत्नशील रहेको बताएका छन् ।
निजी निवास धुलाबारीमा शुक्रबार सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षक तथा कर्मचारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले सम्बन्धित सरोकारवालासँग बसेर छलफल नगरी विधेयक ल्याउनु नै समस्याको जड भएको औँल्याए। प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन २०८० अपूर्ण र अपुरो रहेको उनको निष्कर्ष छ।
‘मैले प्रस्तावित यो ऐन सुक्ष्म अध्ययन गरेको छु’, उनले भने, ‘यो ऐनको मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको अन्योल सिर्जना गरेको छ।’ महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको विश्वास दिलाए । शिक्षकको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाए । झापा १ का संघीय सांसद समेत रहेका शर्माले विधेयक क्याविनेटमा पास नभई संसदमा नआउने र गलत ढंगले आए विधेयक संशोधन हुनेमा नियम सुनाए ।
शिक्षा ऐना ल्याउन नयाँ प्रक्रियामा जानू पर्ने निष्कर्षमा आफू पुगेको उल्लेख गरेका शर्माले प्रस्तावित विधेयकका विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग छलफल समेत गरेको बताए । उनले शिक्षा क्षेत्र राम्रो भए समाज राम्रो हुने भएकाले आफू व्यक्तिगत रुपमा पनि राम्रो विद्यालय ऐन बनाउने पक्षमा रहेको बताए ।
ध्यानाकर्षणपत्र बुझाउन नेपाल शिक्षक संघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं , सदस्य भुमादेवी आन्दम्बे, नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष झापा अध्यक्ष द्रोण श्रेष्ठ, प्रगतिशील राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, एकीकृत अखिल नेपाल शिक्षक संगठन झापा अध्यक्ष रविन्द्र मैनाली, नेपाल शिक्षक संघ झापा अध्यक्ष तोयानाथ दाहाल (भाष्कर), पूर्वअध्यक्ष नेत्रप्रसाद खरेल, मेचीनगर अध्यक्ष शान्ता निरौला, नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष केशव पौडेल, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेल,शिक्षक रमेश दाहाल, टिकेन्द्र खनाल लगायतको समूह महामन्त्री शर्माको निजी निवास पुगेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



