
झापा, ३ भदौ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले देश विकासका लागि योजना दिने राजनीतिज्ञ आवश्यक रहेको औंल्याउनु भएको छ ।
नेपाल विद्यार्थी संघ झापा अन्तरगत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिको आयोजनामा झापाको बिर्तामोड आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले त्यस्तो बताउनुभएको हो ।
“हामीलाई समस्या मात्रै देखाउने मान्छे चाहिएको छैन”, उहाँले भन्नुभयो, “हामीलाई नेपालको विकासका लागि योजना दिने राजनीतिज्ञ चाहिएको छ, समस्या त जसले पनि औंल्याउन सक्छ ।” महामन्त्री थापाले युवा पुस्ताबाट देशलाई समृद्ध बनाउने योजना आउने विश्वाससमेत व्यक्ति गर्नुभयो ।
मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन २० वर्षे योजना तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको जनसंख्यालाई आंकलन गर्दा अबको २० वर्षमा नेपाल बुढो हुन्छ र विकास सम्भव नहुने उहाँको भनाइ थियो ।
जापान र कोरियाले जवान छँदै आर्थिक समृद्धि प्राप्त गरेका बताउँदै उहाँले भन्नुभयो, “बेलैमा समृद्ध भएकाले अहिले विदेशबाट कामदार लगेर रोजगारी दिन सम्भव भएको छ, २० वर्ष अघि नै नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सकेमात्रै यसको विकास सम्भव छ, बुढो भएपछि विकास सम्भव हुँदैन ।” नेविसंघ एउटा स्कुल भएको र यहाँ थुप्रै ‘कन्टेन्ट’हरु रहेको बताउँदै थापाले चेतना र समृद्धिको राजनीतिमा लाग्न आग्रह गर्नुभयो ।
नेविसंघ कनकाई इकाई समिति अध्यक्ष किरण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ झापा सभापति सञ्जय निरौलाले स्वागत गर्नुभएको थियो भने सञ्चालन गोकुल पौडेल र गृष्मा सापकोटाले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



