
झापा, ४ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोही पनि भ्रष्टाचारी उम्किनु नहुने धारणा राख्नुभएको छ ।
नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको नगर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै महामन्त्री शर्माले कोही पनि भ्रष्टाचारी उम्किनु नहुने र निर्दोषले कारबाही भोग्नु पर्ने अवस्था आउन नहुने धारणा राख्नुभएको हो ।
“कोही पनि भ्रष्टाचारी नम्कियोस्, निर्दोष कारबाहीमा नपरोस्, यो विषयमा कांग्रेस स्पष्ट छ”, महामन्त्री शर्माले भन्नुभयो, “प्रतिपक्षी दलले संसद्को अवरोध हटाएर निष्पक्ष छानविनमा सघाउन म आग्रह गर्दछु ।”
सय किलो सुन तस्करीका विषयमा उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने मागसहित नेकपा एमालेले लामो समयदेखि सदन अवरुद्ध गर्दै आएकोप्रति शर्माले सीआइबीलाई निष्पक्ष छानविन गर्न दिनुपर्ने र सबैले छानविनमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।
त्यस्तै, महामन्त्री शर्माले कांग्रेस सरकारमा भएका बेला मुलुकमा धेरै विकास भएको बताउनुभयो । पार्टी सरकारमा रहेका बेला शिक्षा, स्वास्थ्य, सञ्चार, सडक लगायतका क्षेत्रमा आमूल परिवर्तन भएको उहाँको भनाइ छ ।
“कांग्रेस सरकारमा रहँदा थुप्रै विकास र नीतिगत सुधारका काम भएको छ”, उहाँले भन्नुभयो, “पार्टीले गरेका राम्रा कामलाई हामीले जनतासम्म पु¥याउन सकेनौं, अब पार्टीले गरेको कामका बारेमा पनि आमनागरिकसमक्ष पु¥याउनुपर्छ ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



