
झापा १६ भदौ । क्षेत्र, प्रदेशसभा क्षेत्र र नगर सम्मेलनलाई तिब्र बनाएको नेपाली कांग्रेसले शनिबार ४ नम्बर क्षेत्रीय सम्मेलन, ५ (क) प्रदेशसभा (क) क्षेत्रीय सम्मेलन र मेचीनगरको नगर सम्मेलन सम्पन्न गरेको छ । तीनमध्ये मेचीनगर र क्षेत्र नम्बर–४ को सम्मेलनलाई कांग्रेसका महामन्त्री एवं युवानेता गगनकुमार थापाले सम्बोधन गरेका छन् भने ५ (क)को प्रदेशसभा सम्मेलनलाई अर्का युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्बोधन गरेका छन् ।
मेचीनगर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८२ सालबाट अहिलेको पार्टी नेतृत्व बिदा हुने बताए । ‘पार्टीको नेतृत्व ठिक भएन भनेर तपाईंहरू चिन्तै नगर्नुस’,थापाले भने, ‘तपाईँहरू तलको समस्या मिलाउनुस्, हामी माथिको समस्या लिलाउँछौं, ढुक्क हुनुस्, अगामी महाधिवेशनबाट अहिलेको नेतृत्व बिदा हुन्छ ।’ उनले पार्टीमा केही समस्या र अप्ठ्यारा भने अवश्य रहेको बताए । थापाले काङ्ग्रेसमा पुनर्जागरण जरुरी भएको पनि औँल्याए ।
भर्खर आएकाले नयाँले २०८४ को चिन्ता लिएर कोकोहोलो मच्चाइरहेको उल्लेख गरेका थापाले काङ्ग्रेसलाई २०८४ को चिन्ता पटक्कै नभएको बताए । केही समूहले काङ्ग्रेसलाई नै निसाना बनाएर प्रहार गरिरहेको उनको टिप्पणी छ । तर, त्यो कुन समूह हो भन्ने उनले खुलाएनन् । ‘एमालेलाई सडक किनारामा बसेर समस्या छ भन्दिए हुन्छ, अर्कोलाई टङटङ घण्टी बझाइदिए पुन्छ’, उनले भने,‘ काङ्ग्रेसलाई त्यसो गरेर पुग्दैन, देश बदल्ने जिम्मा काङ्ग्रेसको काँधमा छ ।’
कम्युनिस्टले समाजको विश्वास कहिल्यै नगर्ने उल्लेख गरेका थापाले नेपाली समाजले गुमाएको आत्मविश्वासलाई जगाएर काङ्ग्रेसले देश बदल्ने विश्वास दिलाए । काङ्ग्रेससँग युवा र तन्नेरी पुस्ता रिसाएको बताएका उनले तन्नेरी पुस्तालाई भेटेर फकाउन नेताकार्यकर्तालाई आग्रह गरे । सबैमा आत्मविश्वास जगाएर १५ वर्षभित्र देश बदल्नु र बनाउनु छ ।’ देश अब १५ वर्ष मात्र जवान रहने उनको तर्क छ ।
महामन्त्री थापाले भने, ‘अघिल्ला पाँच वर्ष आधार वर्ष र पछिल्ला पाँच वर्ष उचाइको वर्ष बनाउन चुकियो भने देश बन्दैन ।’ चार वर्षको चिन्ता छोडेर काङ्ग्रेसले अहिलेको समयलाई देश बनाउने अवसरका रूपमा लिएको थापाले बताए ।
महामन्त्री थापाले निराश नबन्न र दृढ विश्वासका साथ अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गर्दै आफूहरूकै पालामा देश समुन्नत हुने डाढस दिए । काङ्ग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरु (सुदय) ले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेको सम्मेलनमा सचिवद्वय मनोज घिमिरे र मुकेश लिम्बू र उपसभापति योगेन थापामगरले १४ औँ महाधिवेशनपछि नगर नेतृत्वले गरेका काम, नगरको आगमी योजना र नगर पार्टीको वर्तमान अवस्थाका बारेमा प्रष्ट्याएका थिए ।
सम्मेलनमा काङ्ग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कोसी प्रदेश सदस्य विमल आचार्य, प्रदेश सांसद गोपाल तामाङ, झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे र झापा १ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आआफ्ना धारणा राखेका थिए ।
यसैबीच प्रतिनिधिसभा झापा क्षेत्र नम्बर–४ को क्षेत्रीय सम्मेलन उद्योग बाणिज्य संघ सुरुङ्गाको सभाहलमा सम्पन्न भएको छ । झापा क्षेत्र नं ४ प्रदेश क का सभापती विनोद ढकालको सभापतित्व र महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रदेशसभा ख का सभापती ख्यामराज सिटौलाले स्वागत र क्षेत्रीय सचिव रमेश खतिवडाले सन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि थापा, केन्द्रिय सदस्य गोमा भट्टराई र नेपाली कांग्रेस झापा सभापति देउकुमार थेबे लगायतले मन्तब्य राख्नुभयो ।
कार्यक्रमका सभापति बिनोद ढकालले सागठननिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, लख्खी गणेश, महिला संघ केन्द्रीय सदस्य उमा सिवाकोटी, कोशी प्रदेश समिति सदस्य किरण भट्टराई, रन्जिता कार्की, कनकाइ नगर सभापति दुर्गा प्रसाईं, शिवसताक्षि नगरपालिका सभापति अशोक बस्नेत, झापा गाउपालिका सभापति सागिरथ गणेश, गौरिगन्ज गाउपालिकाका सभापति अघनुप्रसाद राजबंशी लगायतको आतिथ्यता रहेको थियो ।
जनचाहना बमोजिम काम गर्न पौडेलको आग्रह
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीबाट जितेका जनप्रतिनिधि र सरकारले जनचाहना अनुसार काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (क) को प्रदेशसभा सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टी सरकारमा भएका बेला जनप्रिय कार्य गरेमात्रै आवधिक निर्वाचनमा पार्टीको पक्षमा मत माग्न सहज हुने बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका पौडेलले पार्टीले धेरै काम गरेपनि प्रचार नभएको बताउँदै उहाँले प्रचार–प्रसारमा समेत जोड दिनुभयो ।
प्रदेशसभा क्षेत्रीय सभापति जीवन राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रममा पार्टीका झापा उपसभापति केशवराज पाण्डेले मन्तब्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



