
झापा, २२ भदौ । नेकपा (एमाले) का नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन् । २०७९ पुष २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त बनेका थिए । सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।
शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनियताको शपथ दिलाएका छन् । सर्वोच्च अदालतले बिहीबार कोशी सरकारका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत बदर गर्दै उनको नियुक्ति पनि बदर गरेको थियो । अदालतले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको सरकार ४८ घन्टाभित्र बनाउन परमादेश दिएको थियो।सोही परमादेश अनुसार कार्की नियुक्त भएका हुन् ।
मुख्यमन्त्री कार्कीले तीन जना मन्त्री र एकजना राज्यमन्त्री नियुक्त गरेका छन् । तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन तथा वातावरण र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन् । यसैगरी सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । उनीहरूले पनि शपथ लिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



