
झापा, ५ असोज । झापामा कृषि व्यवसाय प्रवद्र्धनका लागि डेढ करोड बढी अनुदान प्राप्त भएको छ ।
जिल्लामा कृषि क्षेत्रको प्रवद्र्धन एवम् कृषि पेशामा लागेका कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न आठ वटा शीर्षकमा कोशी प्रदेश सरकारमार्फत् रू एक करोड ५१ लाख ५० हजार अनुदान प्राप्त भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०÷०८१ का लागि लागत सहभागिता आधारित अनुदान कार्यक्रम रहेकाले सरकारको ७५ प्रतिशत र कृषकले २५ प्रतिशत लागत सहभागिता जनाउनुपर्ने उहाँले बताउनुभयो । “कृषकलाई सरकारी सुविधाको लाभ लिन आह्वान गरेका छौं”, उहाँले भन्नुभयो, “योग्य र वास्तविक कृषकलाई छनोट गरी अनुदान वितरण दिन्छौं ।”
जैविक विषादी उत्पादन प्रवद्र्धनका लागि रू एक लाख ५० हजार, जुट खेती प्रवद्र्धनका लागि रू पाँच लाख, मागमा आधारित कार्यक्रमका लागि रू १५ लाख, युवा लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रमका लागि रू ४० लाख, व्यावसायिक केरा खेतीका लागि ढुवानी साधन खरीदमा सहयोग अन्तरगत रू १५ लाख, गढ्यौला मल उत्पादन तथा प्रारंगारिक मल सुधार कार्यक्रमका लागि रू पाँच लाख, सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग अन्तरगत रू ४० लाख र बीऊ प्रशोधन पूर्वाधार तथा भण्डारण गृह निर्माणका लागि रू ३० लाख अनुदान आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।



झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


