
झापा, ७ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताउनु भएको छ ।
प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु प¥थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि भएको पाइयो ।’ तत्कालिन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले कोशी नामकरण विरुद्ध जवर्जस्ति आन्दोलन उठाइएको बताउँदै स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरुको सहयोगमा काठमाडौ देखिका मानिसहरु ल्याउन थालिएको दाबी गर्नुभयो । उहाँले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरुले आ आफ्नो धारण सार्वजनिक गरेपनि रबीको पार्टीको धारण प्रस्ट नआएकोमा आश्चर्य व्यक्त गर्नुभयो ।
एमालेका अगाडी धेरै समस्या नरहेको प्रस्ट पार्दै एमाले अरुका कारणले नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको उहाँको भनाइ थियो । मुलुकमा एमाले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्दै तर धेरै ठाउँमा एमालेले नै एमालेलाई हराएको उहाँको कथन छ । ‘त्यसैले अब एक पटक हरेक मोर्चामा एमाले जिताउ अभियान चलाउन हो भने मात्र पार्टीले चलाएको मिसन ८४ सफल हुन्छ’– मुख्यमन्त्री कार्कीले भन्नुभयो ।
सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागि हुन आउनु भएका कानुन व्यवसायिहरुले स्थानीय जिल्लामा पीपीएलए र नेकपा एमालेको अवस्थाबारे अवगत गराउनु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



