
झापा, ७ असोज । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सर्लाही लगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ ढंगले निर्णय लिन सरकारले तयारी गरिरहेको जानकारी गराउनु भएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री श्रेष्ठले सर्लाही, पर्सा लगायतका जिल्लामा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र त्यहाँ चिन्ताजनक घटना भइरहेको बताउनुभयो ।
उहाँले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको भए पनि अवस्था बिग्रिँदै गएकाले पछिल्लो समय प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको पनि जानकारी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको तर त्यसमा आँच पुर्याउने र खलल पार्ने कार्य भइरहेको भन्दै त्यसप्रति सरकार गम्भीर रहेको समेत बताउनु भयो ।
भ्रष्टाचार विरुद्धको अभियानमा आफू विचलित नहुने भन्दै गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो वा कुनै पनि प्रहरी संयन्त्रलाई अनुसन्धानमा प्रभाव पर्ने काम सरकारबाट नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समितिमा पछिल्लो दिनमा सर्लाही लगायतका मधेशका जिल्लामा भइरहेको साम्प्रदायिक घटना, भ्रष्टाचार विरुद्धको अभियान लगायतका विषयमा सांसदहरुले प्रश्न गर्नु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



