
उर्लाबारी, २७ कात्तिक । मोरङको बेलबारीमा आइतबार दिउँसो चर्चित गायक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि कुटपिट गरिएको छ । बेलबारी–२ स्थित घरबाट पत्नी सहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बसमा चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर, सहचालक समेतले गायक बरदान माथि आक्रमण गरेको हो ।
काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ, उर्लाबारीका २० वर्षीय रोशन श्रेष्ठ र सहचालक झापा, दमकका २१ वर्षीय सुजन श्रेष्ठले बेलबारीको लालभित्तीमा पुगेपछि बरदानमाथि कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए ।
कुटपिटबाट गायक श्रेष्ठको कन्चट फुटेको छ भने निधारको वायाँ भाग सुन्निएको छ । गायक श्रेष्ठमाथि कुटपिट गरेर भागेको यात्रुबहाक बस, बसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–३ का २६ वर्षीय निरन घिमिरे र सहचालक सुजन श्रेष्ठलाई प्रहरीले मोरङको गछियाबाट नियन्त्रणमा लिएको छ । कन्डक्टर श्रेष्ठ भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी निरीक्षक राईले बताए । घाइते बरदानको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बसमा बस्ने सिटको विषयमा विवाद भएपछि श्रेष्ठमाथि कुटपिट भएको खुलेको छ । बसका कर्मचारीले बस भित्रै कुटपिट गर्न थालेपछि यात्रुहरुमा समेत खैलाबैला मच्चिएको थियो । बसमा यात्रा गरिरहेका यात्रुहरु समेत त्यहाँबाट ओर्लिएर कुटपिटमा संलग्नमाथि कारवाही हुनु पर्ने माग गर्दै इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेका थिए ।
कुटपिटबाट घाइते भएका बरदान ‘छपनीले छान् छान् डबकी हान्, जाँडैको निगारैले लाग्यो मलाई मात’ बोलको चर्चित गीतका गायक हुन् । उनले गाएका दर्जनौ गीतहरु हिट भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

