
झापा, १३ असोज । नेकपा एमालेको कोशी प्रदेशको अधिवेशन वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ । विराटनगरमा जारी समूहगत छलफलको क्रममा अधिवेशन स्थलको टेन्ट र ब्यानर हावाहुरीले उडाइदिएपछि कार्यक्रम रोकिएको छ ।
एमालेले १४ जिल्लाका ९९७ प्रतिनिधिलाई ७ समूहमा विभाजित गरेर अधिवेशनमा प्रस्तुत राजनीतिक,साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेको थियो । यसअघि हिजो प्रतिवेदनहरू अधिवेशनमा प्रस्तुत भइसकेको छ । राजनीतिक र साङ्गठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका हुन् । यस्तै आर्थिक प्रतिवेदन भने एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले प्रस्तुत गरेका छन् ।
प्रतिवेदनहरुमाथि आजै छलफल पछि पारित गरेर सिधै मनोनयन दर्तामा जाने तयारी छ । अधिवेशनमा छानिने नेतृत्वको विषयमा भने एमालेमा दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल छन् ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



