
झापा, २७ कात्तिक । झापाको मेचीनगर नगरपालिकाका केही वडामा डेंगु संक्रमण दर उच्च भएपछि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।
नगरको वडा नं. ३ को तेलपानी क्षेत्र, वडा नं. १० को धुलाबारी क्षेत्र, वडा नं. १२ को माथिल्लो धाइजन क्षेत्र र वडा नं. १३ को चारआली आसपास क्षेत्रमा रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको नगरपालिकाकी स्वास्थ्य शाखा संयोजक शशीकला राईले जानकारी दिनुभयो ।
‘मेचीनगरमा डेंगुको जोखिम उच्च देखिएको छ’, उहाँले भन्नुभयो, ‘बेलैमा रोग नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।’ अभियान अन्तरगत डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे वृत्तचित्र देखाउने, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, विषादी छिट्ने लगायतका काम शुरु गरिएको छ ।
डेंगु रोग उपचारमा भन्दा पनि जनचेतनामूलक अभियानबाटै निर्मुल पार्न सकिने जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर सुपरभाइजर जीवन चौलागाईंले बताउनुभयो । ‘हरेक वर्ष झापामा वर्षा सकिने बित्तिकै डेंगुको संक्रमण बढ्ने गरेको छ’, उहाँले भन्नुभयो, ‘बेलैमा सतर्कता र सचेतना बढाउन सके नियन्त्रण गर्न सकिन्छ ।’
वर्षायाम सकिए लगत्तै असोज र कात्तिक महिनामा डेंगुको संक्रमणको खतरा बढी हुने उहाँले बताउनुभयो । एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ भने उक्त लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्दछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

