
भद्रपुर, १७ असोज । अस्वाभाविक पोशाक लगाएर जिल्ला प्रशासन कार्यालय (सिडिओ) झापामा आउने सेवाग्राहीलाई कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको छ ।
प्रशासन कार्यालयले असोज १२ गते एक सूचना जारी गर्दै सेवा लिन आउने सेवाग्राहीलाई कार्यालयमा आउँदा अनिवार्यरुपमा स्वाभाविक र सभ्य देखिने पोशाक लगाएर आउन आग्रह गरेको छ । प्रशासन शाखाबाट जारी सूचनामा पुरुषको हकमा हाफ पाइन्ट र महिलाको हकमा मिनी स्कर्टजस्ता भड्किला, असभ्य र अस्वाभाविक देखिने पोशाक लगाएर आएको खण्डमा कार्यालय परिसरभित्र प्रवेशमा रोक लगाइएको व्यहोरा उल्लेख छ ।
दैनिकजसो हाफ पाइन्टमा र मिनी स्कर्टमा आउने सेवाग्राहीलाई सुरक्षाकर्मीले सम्झाइ बुझाइ बाहिर पठाउने गरेका छन् । कतिपयले सूचनाका बारेमा थाहा नभएको भन्दै बुझ्ने गरेको तर केहीले सेवाग्राहीलाई दुःख दिएको भन्दै रिसाउने गरेको कर्मचारीहरु बताउँछन् ।
प्रशासन कार्यालय परिसरमा बुधबार भेटिएका केही सेवाग्राहीले भने प्रशासनको यस कदमको प्रशंसा गरेका थिए । उनीहरूले यो नियम सधैँका लागि हुनुपर्ने भन्दै अटेर गर्नेमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । यसअघि झापा जिल्ला अदालतले हाफ पाइन्ट र स्कर्ट लगाउने सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


