
उर्लाबारी, २९ कात्तिक । सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ ।
मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिसँग यहाँ बुधबार भएको भेटघाटमा युएनएचसीआरका एशिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भूटानी शरणार्थी समस्या समाधानमा युएनएचसीआर सधैँ लागिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “युएनएचसीआरले लगातार प्रयास नगरेको पनि होइन, अझै पनि नेपाल र भूटानसँग कुराकानी गर्न तयार छ, फेरि कोशिस गरौँ ।”
निर्देशक रवाट्टेले तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणार्थी र शिविरमा बाँकी रहेका शरणार्थीको छुटेका परिवारलाई एक ठाउँ ल्याउनेतर्फ युएनएचसीआरले पहल गर्ने बताउनुभयो ।
भेटमा नगर प्रमुख राईले भूटानमा नेपाली भाषी पनि सांसद बनेको भन्दै नयाँ सरकारसँग पहल गर्न केही सजिलो हुने बताउनुभयो ।
नेपाल सरकारले भूटानसँग वार्ता गरी समस्याको दिगो समाधान खोज्न पहल गर्नुपर्ने बताउँदै उहाँले त्यस्तो हुन नसकेमा नेपाल सरकारले उनीहरुको बसोबास र सुविधाको व्यवस्थापन गर्नसमेत तयार हुनुपर्नेमा जोड दिनुभयो ।
झापा र मोरङका विभिन्न शिविरमा छ हजार ५०० शरणार्थी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

